सीमा बचाऊ अभियानद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं – नागरिक समाजकातर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्सा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका प्रा.डा. नरेन्द्र राजखनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो ‘डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं । यही विधिबाट रेखांकन गरिएको हो । नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट उल्लेख गरिएको छ ।’

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिनुभयो । उहाँले नक्शा तयार पारिएको विधि समेत उल्लेख गर्नुभयो । नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताउनुभयो । उहाँले अरुको जमिन नलिने र आफ्नो जमिन अलिकति पनि नछोड्ने नेपालको मूल सिद्धान्त रहेको पनि बताउनुभयो । सार्वजनिक गरिएको नक्सा सुगौली सन्धी अनुसारको भएको पनि उहाँको भनाइ छ । भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उहाँले बताउनुभयो । नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिनुभयो ।

उहाँले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको बताउनुभयो । पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भारतको नयाँ नक्सालाई सबै नेपाली मिलेर प्रतिरोध गर्न आवश्यक रहेको पनि बताउनुभयो । पूर्व सचिव तथा अभियानकर्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिनुभयो । नक्सा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनु पर्ने पनि उहाँको जोड थियो । संयुक्त राष्ट «संघसम्म नक्सा पुर्याउनेबारे विचार गरिएको उहाँको भनाई थियो ।

थप समाचार