कांग्रेस नेता कार्कीद्धारा जेहेन्दार विद्यार्थीलाई १ लाख ३ हजार सहयोग

प्रकाशित मिति:

काठमाडौं – सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का सल्लाहकार एवम् नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआइ)का केन्द्रीय सदस्य, नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि आर्थिक सहयोग गर्नुभएको छ । आइतबार सोलुखुम्बुबाट काठमाडौं आई पत्रकारिता गरिरहेका पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच कार्कीले डिप्लोमा फार्मेसी अध्ययन गरिरहेकी कुलुङलाई १ लाख ३ हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । आगामी दिनमा एकताको पढाईलाई हेरेर सहयोगलाई निरन्तरता दिने घोषणासमेत उहाँले गर्नुभयो ।

एकताको बुवाआमा हुनुहुन्न । एकतालाई नै किन सहयोग गर्ने निर्णय गर्नुभयो भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिदैं नेता कार्कीले भन्नुभयो ‘एक दिन मनकुमारलगायतका भाईहरुसँग एकता मेरो अफिस आएर सहयोग गर्नुपर्‍यो भन्नुभयो । मैले सिधै तिम्रो आमाबुवाले सहयोग गर्नुहुन्न भन्ने प्रश्न सोधे । तर, एकता बहिनी मेरो प्रश्नको जवाफ दिनुको सट्टा रुनुभयो । पछिमात्रै मैले थाहा पाए बुवाआमा हुनुहुन्न भन्ने कुरा । मैले नसोध्नुपर्ने प्रश्न सोधेछु । एक त त्यही कुराले अनि अर्को कुरा उनको पढाई एकदम राम्रो भएपनि आर्थिक अवस्था कमजोर भएका कारण समस्या देखे र उनलाई सहयोग गर्ने निर्णय गरे । जे गरे ठीकै गरे भन्ने लाग्छ । उनको पढाई र इमान्दारिता हेरेर आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग गर्नेछु ।’

आर्थिक सहयोग हस्तान्तरणपछि नेता कार्कीले पत्रकारहरुसँग भेटघाट कार्यक्रम राख्नुको उद्देश्यसोलुखुम्बुबाट काठमाडौं आएर पत्रकारिता पेशामा आबद्ध पत्रकारहरुसँग चिनजान गर्ने र मुलुकको सम्बृद्धि र विकासमा हातेमाले गरेर जाने वातावरण निर्माण गर्नु रहेको प्रष्ट्याउनुभयो । उहाँले आफ्नो मन्तव्य राख्ने क्रममा २० लाख पर्यटक भित्र्याउन लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैले आआफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकको सम्बृद्धिको मुख्य आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै उहाँले बाह्यमात्रै नभएर आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत स्थानीय उत्पादनको सदुपयोग गरेर आम्दानी बढाउनुका साथै रोजगारी सिर्जना गर्ने तथा राज्यलाई आवश्यक पूर्वाधार निर्माणमा सकारात्मक दबाब सिर्जना गर्न सकिने बताउनुभयो । त्यस्तै देशमा मौलाईरहेको संस्थागत भ्रष्टाचार, प्रशासनिक ढिलासुस्तीलाई पत्रकारिताको माध्यमबाट उजागर गर्दै त्यसको न्यूनिकरणमा लाग्नुपर्ने आवश्यकतासमेत उहाँले औल्याउनुभयो । उक्त कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौं आएर पत्रकारिता गर्ने अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो ।