शिक्षक र विद्यार्थी

९ मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
58 Shares


✒️ रुपेश आचार्य –

शिक्षक र विद्यार्थी एक अर्कासँग सम्बन्धित छन् । शिक्षक बिना विद्यार्थीको अस्तित्व रहँदैन र विद्यार्थी बिना शिक्षकको अस्तित्व रहँदैन । शिक्षक र विद्यार्थी नै यो देशका असली आधार स्तम्भ हुन् । विद्यार्थीहरू घर हुन् भने शिक्षक उक्त घर निर्माण गर्ने मिस्त्री हुन् । तसर्थ शिक्षक र विद्यार्थी बिचमा नङ र मासुको जस्तो घनिष्ट सम्बन्ध हुनुपर्छ र हुनुपर्ने हो तर यथार्थमा यस्तो घनिष्ट सम्बन्ध कायम रहेको पाइदैन । अहिलेको यस समयमा शिक्षक र विद्यार्थी आ–आफ्नै स्वार्थमा मात्र केन्द्रित भएका छन् अर्थात् विभाजित भएका छन् । वर्तमान समयमा अध्ययन तथा विश्लेषण गर्ने हो अधिकांश शिक्षकहरूमा आर्थिक स्वार्थ रहेको पाइन्छ । जसले गर्दा शिक्षकले केवल आर्थिक पक्षलाई मात्र बढी ध्यान दिने भएकाले शिक्षाको गुणस्तर पनि दिनप्रतिदिन खस्किदै गइरहेको छ भन्न सकिन्छ । अब शिक्षक आर्थिक पक्षमा बढी केन्द्रित हुन थालेपछि शिक्षकलाई विद्यार्थीको वास्तविक भविष्य निर्माणकर्ता भन्दा पनि आफ्नो र आफ्नो परिवारको निर्माण कर्ता भनेर सम्बोधन गर्दा कुनै गलत नहोला तर सबै शिक्षकलाई यसरी सम्बोधन गर्न चाहिँ मिल्दैन किनकि थोरै मात्रामा अर्थात् सीमित भए पनि आफ्नो पेशा प्रति जिम्मेवारीवार वास्तविक शिक्षक अझैँ पनि हुनुहुन्छ ।

त्यसैगरी विद्यार्थीहरू पनि आफ्नो स्वार्थ पुरा गर्नका लागि अध्ययन गरिरहेका छन् । विद्यार्थीहरू पास हुनका लागि अर्थात् शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि मात्रै अध्ययन गरिरेहका छन् । शायद यस्तो विद्यार्थी नै भेटिदैन होला यहाँ जो केवल शैक्षिक प्रमाणपत्र हाँसिल गर्नका लागि मात्र नभई ज्ञानका लागि र जिन्दगी जिउनका लागि अध्ययन गरिरहेको होस् । वर्तमान समयमा ज्ञानको भन्दा पनि देखावटी कागजी सर्टिफिकेटको महत्व बढी रहेको पाइन्छ । कसैले भन्न सक्छ ज्ञानको महत्व बढी छ भनेर तर त्यो त केवल भ्रम मात्रै हो किनकि व्यवहारमा जहाँ पनि सर्टिफिकेट नै हेर्ने गरिएको पाइन्छ । यदि हातमा सर्टिफिकेट छैन भने जहाँ गए पनि रिजेक्ट हुनुपर्छ किनकि यहाँ सर्टिफिकेट बिनाको ज्ञानको कुनै औचित्य नभएको कुरा सबैलाई प्रष्ट रुपमा थाहा नै छ । यसर्थ पनि हुन सक्छ विद्यार्थीहरू सर्टिफिकेटमा मात्र बढी केन्द्रित हुने भएकाले शिक्षाको गुणस्तर कमजोर भइरहेको । शिक्षक र विद्यार्थी आ–आफ्नै स्वार्थमा दौडिएपछि शिक्षक र विद्यार्थी बिचमा घनिष्ट सम्बन्ध कायम रहने त कुरै भएन । कतिपय ठाउँहरूमा त शिक्षक र विद्यार्थी विचमा द्वन्दको पनि सिर्जना भइरहेको पाइन्छ ।

संबेदनशील तथा जिम्मेवारीका साथ शिक्षकले नपढाउने र विद्यार्थीले पनि जिम्मेवारीवारीका साथ जिन्दगी जिउनका लागि नपढ्ने भएकाले शिक्षक र विद्यार्थी विचको सम्बन्धमा खोट लाग्दै गइरहेको छ । शिक्षकको नाममा सुसाइट नोट लेखेर विद्यार्थीले आत्महत्या गरेको समाचार पनि सुनिएकै हो । कतिपय यस्ता शिक्षक पनि छन् जो आफ्नै छात्राहरूलाई यौन शोषण गरिरहेका छन् यसबाट शिक्षकप्रति विद्यार्थीको विश्वास पनि कम हुँदै गइरहेको छ । कतिपय मेडिकल कलेजमा पनि विद्यार्थीहरू माथि चरम आर्थिक शोषण भइरहेको छ । समग्रमा भन्नुपर्दा जबसम्म शिक्षकहरूले केवल आर्थिक पक्षलाई मात्रै बढी ध्यान दिन्छन् र विद्यार्थीहरूले पनि केवल सर्टिफिकेटका लागि मात्रै पढ्ने गर्छन् तबसम्म शिक्षाको गुणस्तरमा सुधार हुँदैन र शिक्षक र विद्यार्थी बिचमा घनिष्ट सम्बन्ध पनि कायम हुँदैन । शिक्षक र विद्यार्थी मध्ये कुनै एक पक्षले मात्रै चाहेर शिक्षाको गुणस्तरमा सुधार आउँदैन, त्यसैगरी शिक्षक र विद्यार्थी विचको सम्बन्ध पनि सुदृढ हुँदैन । कतिपय विद्यार्थीहरू कुलतमा फसेका छन्, कतिपय विद्यार्थीहरूको मुखमा अश्लिल शब्दहरू मात्रै झुण्डिएको छ, कतिपय विद्यार्थीहरू अश्लिल भिडियोहरूमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्, कतिपय विद्यार्थीहरूले आफ्नो जिन्दगीको कुनै लक्ष्य नै निर्माण गरेका छैनन् अर्थात बिना गन्तव्य हिडिरहेका छन् ।

चिट चोरेर पास गर्न खोज्न विद्यार्थीको जमात धेरै छ यहाँ । विद्यार्थीहरू अझै पनि घोकन्ते विद्याको सिद्धान्त फ्लो गरिरहेका छन् । छोटकरीमा भन्ने हो भने विद्यार्थीहरू केवल सर्टिफिकेटका लागि मात्रै पढिरहेका छन् र यही वास्तविकता हो । त्यसैगरी कतिपय शिक्षकहरूले आफ्नो जिम्मेवारीवारी भुलेका छन् , कतिपय शिक्षकहरूले धुम्रपान मद्यपान स्वास्थ्यका लागि र समाजका लागि हानिकारक छ भनेर विद्यार्थीहरूलाई कक्षा कोठामा सिकाउँछन् तर बाहिर विद्यार्थीकै अगाडि स्वयम् धुम्रपान तथा मद्यपान गरिरहेका छन् , कतिपय शिक्षकहरूको बोल्ने शैली पनि राम्रो नभएको पाइन्छ । कुनैकुनै शिक्षकले आफ्ना छात्राहरूको शरीरमा कु–दृष्टि लगाउने गर्दछन् र छात्राहरू माथि यौन शोषण गर्ने गर्छन् । कतिपय शिक्षकहरू कसरी हुन्छ सकेसम्म कक्षाकोठामा आफ्नो समय बिताउने प्रयासमा जुट्ने गर्दछन् । कतिपय शिक्षकहरूलाई त विद्यार्थीको भविष्यको बारेमा केही चिन्ता नै हँुदैन र कतिपय शिक्षकहरूले विद्यार्थीहरूलाई आफ्नो आयस्रोतको मुख्य बाटो सम्झिएका हुन्छन् । छोटकरीमा भन्ने हो भने कतिपय शिक्षकहरू पैसाको पछाडी दौडिएका छन् अर्थात् केवल पैसाको लागि पढाउने गरेका छन् ।

“चाहे शिक्षक होस् चाहे विद्यार्थी दुवैमा नैतिकताको बारेमा ज्ञान हुन जरुरी छ । दुवै पक्षले आ—आफ्नो जिम्मेवारी इमान्दारीका साथ पुरा गर्न जरुरी छ । शिक्षक र विद्यार्थी बिचको आत्मिय सम्बन्ध कहिल्यै पनि कमजोर हुनु हुदैन किनकि देशको भविष्य नै शिक्षक र विद्यार्थीमा जोडिएको हुन्छ”

चाहे शिक्षक होस् चाहे विद्यार्थी दुवैमा नैतिकताको बारेमा ज्ञान हुन जरुरी छ । दुवै पक्षले आ—आफ्नो जिम्मेवारी इमान्दारीका साथ पुरा गर्न जरुरी छ । शिक्षक र विद्यार्थी बिचको आत्मिय सम्बन्ध कहिल्यै पनि कमजोर हुनु हुदैन किनकि देशको भविष्य नै शिक्षक र विद्यार्थीमा जोडिएको हुन्छ । डिग्री पास गर्दैमा अर्थात् डिग्रीको सर्टिफिकेट हातमा हुँदैमा कोही पनि वास्तविक शिक्षक हुन सक्दैन किनकि एउटा वास्तविक शिक्षक हुनका लागि डिग्रीको सर्टिफिकेट मात्र पर्याप्त हुदैन । डिग्रीको सर्टिफिकेट प्राप्त गर्नुमा र वास्तविक शिक्षकको नेतृत्व गर्नुमा आकाश पातालको फरक छ । एउटा वास्तविक अर्थात असल शिक्षकमा शैक्षिक योग्यताको साथसाथै सकारात्मक सोच विचार तथा भावना हुन जरुरी छ , विद्यार्थीमा प्रस्तुत हुने शैली शिष्ट (सकारात्मक) हुन जरुरी छ, आफूलाई विद्यार्थीमा प्रतिस्थापन गर्न सक्ने गुण हुन जरुरी छ, विद्यार्थीलाई डर–त्रास र धम्कीको माध्यमबाट आफ्नो नियन्त्रणमा राख्न खोज्ने जस्तो गलत तथा परम्परागत सोचको अन्त्य गर्न सक्नुपर्छ, विद्यार्थीलाई किताबी ज्ञानका साथसाथै जिन्दगी जिउनका लागि व्यवहारिक ज्ञान प्रवाह गर्न सक्ने क्षमता हुन जरुरी छ, आफूमा साथित्वको भावना जागृत गरी शिक्षक बनेर भन्दा पनि एउटा असल साथी बनेर विद्यार्थीलाई स्पष्ट सँग बुझाउन सक्ने त्यो अद्भुत कला हुन जरुरी छ, विद्यार्थीलाई पढाउँदा मजाक नगरी गम्भिर र संवेदनशील बन्न जरुरी छ, जिन्दगी नै एक सिकाई भएकाले पि.एच.डी. को सर्टिफिकेट नै हातमा किन नहोस् बाँचुन्जेल सिकाइको अन्त्य हुँदैन अर्थात बाँचुन्जेल मान्छे ज्ञानमा र सिकाइमा अपूर्ण नै रहन्छ भन्ने कुरालाई आत्मासात गर्न जरुरी छ, शिक्षकमा भाषा (बोली) व्यवहार पनि शिष्ट एवम नम्र हुन जरुरी छ साथै सहयोगी भावना पनि हुन जरुरी छ, सबै मलाई मात्र आउँछ विद्यार्थीलाई केही आउँदैन भन्ने भ्रमको अन्त्य हुन जरुरी छ । शिक्षकले विद्यार्थीका प्रश्नहरूलाई स्वीकार गर्न र आफूमा भएको घमण्डलाई त्याग्न जरुरी छ । शिक्षकमा विद्यार्थीलाई उत्प्रेरित गर्न सक्ने गुण हुन जरुरी छ । अल्वर्ट आइन्सटाइनले भनेका थिए, ‘यदि तिमीले कुनै कुरा अरुलाई बुझाउन सकिरहेका छैनौ भने, त्यो कुरा तिमी स्वयमले नै राम्रोसँग बुझेका छैनौ” त्यसैले शिक्षकमा हरेक कुराको अध्ययन र विश्लेषण गर्न सक्ने क्षमता हुन जरुरी छ । शिक्षकको कमजोर विद्यार्थीलाई हतोत्साहित गर्ने जुन बानी छ त्यसको अन्त्य गरी सबै किसिमका विद्यार्थीलाई प्रोत्साहित गर्ने कलाको विकास गर्न जरुरी छ । शिक्षकका लागि मनोविज्ञानको ज्ञान पनि अपरिहार्य छ । शिक्षकको हातमा डिग्रीको सर्टिफिकेट हुनैपर्छ भन्ने छैन, मुख्य कुरा शिक्षकले विद्यार्थीहरूलाई बुझाउन सक्ने किसिमको वातावरण निर्माण गर्न जरुरी छ , शिक्षकले विद्यार्थीका वास्तविक समस्याहरू बुझ्न जरुरी छ र शिक्षक सधँैभरी सकारात्मक हुन जरुरी छ । त्यसैगरी विद्यार्थी पनि नाम मात्रको विद्यार्थी नभई एक असल र वास्तविक विद्यार्थी बन्न जरुरी छ ।

शिक्षक मात्रै सकारात्मक भएर हुँदैन विद्यार्थी पनि सकारात्मक हुन जरुरी छ अर्थात शिक्षक र विद्यार्थी दुवै पक्ष सकारात्मक बन्न आवश्यक छ । दैनिक स्कूल कलेज जाँदैमा, विद्यार्थीको ड्रेस लगाउँदैमा कोही पनि वास्तविक विद्यार्थी हुन सक्दैन । विद्यार्थीमा हुनुपर्ने सबैभन्दा महत्वपूर्ण गुण भनेको अनुशासन हो । कतिपय विद्यार्थीले अनुशासन भनेको कक्षाकोठामा शान्त भएर बस्नु हो भनेर बुझेका छन् तर अनुशासन कक्षा कोठा अथवा विद्यालय बाहिर हरेक क्षेत्रमा चाहिन्छ । किनकि अनुशासनले विद्यार्थीको पहिचान झल्काइरहेको हुन्छ । विद्यार्थीमा सकारात्मक सोच, सकारात्मक बाटो र जिन्दगीको कुनै लक्ष्य हुन जरुरी छ । विद्यार्थी पनि आफ्नो पेशाप्रति जिम्मेवारीवार र गम्भिर हुन जरुरी छ । केही सिक्नका लागि र जिन्दगीलाई सहज बनाउनलाई अध्ययन गर्नुपर्छ । किताबी ज्ञानमा मात्रै सीमित हुनु हुँदैन किनकि किताबी ज्ञानबाट जिन्दगीको बारेमा सिक्न सकिदैन, जिन्दगीलाई बुझ्न सकिदैन, जिन्दगीलाई पढ्न सकिदैन यद्यपी किताबी ज्ञान पनि अपरिहार्य अर्थात महत्वपूर्ण छ । विद्यार्थीको बोल्ने शैली अनि मुखबाट प्रस्फुटित हुने हरेक शब्द सकारात्मक हुन जरुरी छ, अश्लिल शब्द, अश्लिल कुराहरू तथा अश्लिल भिडियोको त्यो दुनियाँबाट मुक्त हुन जरुरी छ । बोल्ने हरेक नकारात्मक शब्दमा सुधार ल्याउन अर्थात अपशब्द प्रयोग गर्ने बानीको अन्त्य गर्न जरुरी छ । विद्यार्थीले यो दुनियाँमा असम्भव भन्ने केही छैन भन्ने भनाईलाई आत्मासात गर्न जरुरी छ । विद्यार्थी सदैव परिवर्तनको पक्षधर हुनुपर्छ । विद्यार्थी लगनशीलका साथै प्रयत्नशील हुन जरुरी छ, विद्यार्थीमा आफ्नो जीवनको कुनै न कुनै लक्ष्य हुनुपर्छ र यदि छैन भने लक्ष्य निर्माण गर्न जरुरी छ किनकि लक्ष्य बिनाको त्यो विद्या अनि जिन्दगीको कुनै अर्थ रहँदैन । आफू भन्दा सानालाई माया र ठुलालाई आदर सम्मान गर्ने कुरालाई विद्यार्थीले सदैव स्मरण गर्न जरुरी छ किनकि यो पनि अनुशासन भित्रको एक महत्वपूर्ण भाग हो । विद्यार्थीले देशको बारेमा सकारात्मक रुपले सोच्न जरुरी छ । विद्यार्थीले आफ्नो अहम् तथा घमण्डलाई त्याग्न जरुरी छ । कतिपय विद्यार्थी धुम्रपान, मद्यपान लगायत अन्य लागुपदार्थको सेवन गर्ने गर्दछन् यसबाट सधैँ टाढा रहन जरुरी छ, विद्यार्थीले के सही के गलत भन्ने कुरा छुट्याउन सक्नुपर्छ । विद्यार्थीमा पनि सहयोगी भावना हुन जरुरी छ । अरुको रिस, डाहा, इष्र्या गर्न छोड्नुपर्छ । अन्यायको विरुद्धमा र न्यायको पक्षमा एकजुट भई आवाज उठाउन जरुरी छ । विद्यार्थीले समयको महत्यलाई विशेष रुपमा बुझ्न जरुरी छ ।

यो संसार नै एक अर्काको विश्वासमा अडिएको छ । त्यसैले विद्यार्थीले यो कुरालाई बुझेर सदैव विश्वासलाई जीवित बनाउने प्रयत्न गर्नुपर्छ । मुख्य कुरा विद्यार्थी एक विद्यार्थी मात्रै नभएर यो देशको सपना हो, यो देशको भविष्य हो तसर्थ विद्यार्थीले सधँै सकारात्मक सोच्न, सकारात्मक बोल्न र सकारात्मक बाटोमा हिड्न जरुरी छ । जिन्दगीका लागि स्कूल÷कलेजको किताबी ज्ञान मात्र पर्याप्त छैन । त्यसैले अन्य विविध पुस्तक पढ्ने गर्नुपर्छ, हरेक क्षेत्रको ज्ञान प्राप्त गर्न जरुरी छ र सधैँ सक्रिय हुन जरुरी छ । शिक्षक र विद्यार्थी पनि एकै रथका दुई पाङ्ग्रा हुन भन्दा कुनै फरक पर्दैन । विस्तृत रुपमा अध्ययन गर्ने हो भने यो देशको अस्तित्व नै शिक्षक र विद्यार्थी हुन् किनकि देशका लागि चाहिने हरेक किसिमका जनशक्ति केवल शिक्षक र विद्यार्थी बाटै उत्पादन हुने गर्दछन् । विद्यालय एक पवित्र मन्दिर हो जहाँ सरस्वती माता अर्थात विद्याको दर्शन गर्न र केही सिक्नका लागि शिक्षक र विद्यार्थी आउने गर्छन् । शिक्षक र विद्यार्थी नै यो देशका अभिन्न अङ्ग हुन् यसमा कुनै दुई मत छैन । जो शिक्षक आफ्नो पेशाप्रति जिम्मेवारीवार र गम्भीर भई इमान्दारितापूर्वक विद्यार्थीको भविष्य निर्माणका निम्ति कटिबद्ध हुनुहुन्छ, उहाँहरूप्रति हृदय देखि नै उच्च सम्मान छ ।


                रुपेश आचार्य

 कंचन विद्या मन्दिर सामुदायिक कलेज,महेन्द्रनगर

फेसबुकबाट तपाईको प्रतिक्रिया