अन्तरकलेज स्तरीय क्रिकेट:काशी नोबल र होराइजन विजयी

प्रकाशित मिति:

भैरहवा/रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शेरबहादुर सेन्चुरी अन्तरकलेज जिल्ला स्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा काशी नोबल एकेडेकी र न्यू होराइजन कलेज विजयी भएका छन् । काशीले शनसाइन आवासी उच्च माविलाई ४ विकेट र होराइजनले भैरहवा नमूना उच्च माविलाई ८९ रनले पराजित गर्यो ।टस जितेर पहिला ब्याटिङ गरेको शनसाइनले सबै विकेट गुमाई ९५ रनको योगफल बनायो । उसका लागि मन्दिप खत्रीले १७, सागर थापा र शिवकुमार मौर्यले समान ११÷११ रनको योगदान गरे । बलिङमा काशीका अजयकुमार लोहनी र सन्देश जीसीले २÷२ तथा दुर्गेश गुप्ता र शंकर रानाले १÷१ विकेट लिए ।

जवाफमा काशीले ६ विकेट क्षतिमा ९६ रन बनाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि शंकर रानाले सर्वाधिक ६७ र संदीप क्षेत्रीले ११ रन बनाए । बलिङमा शनसाइनका शिवकुमार मौर्य र यम क्षेत्रीले २÷२ तथा विष्णु कटेरियाले १ विकेट लिए । खेलमा शंकर राना म्यान अफ द म्याच घोषित भए ।दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ३ विकेट क्षतिमा १६० रनको विशाल योगफल बनायो । उसका लागि कुशल मल्लले ९५, अमर मिश्राले २९ र मनिष थापाले १६ रन बनाए । बलिङमा भैरहवा नमूनाका धिरज गौडले २ र रुपेश कुर्मीले १ विकेट लिए । जवाफमा भैरहवा नमूनाले सबै विकेट गुमाउँदै जम्मा ७१ रन मात्रै बनायो । उसका लागि इकलाख अहम्मदले २९ र अब्दुल रबले १७ रन बनाए ।बलिङमा होराइजनका कृष्ण पराजुलीले ५, मौसम ढकालले ३ तथा कुशल मल्लले १ विकेट लिए । खेलमा होराइजनका कृष्ण पराजुली म्यान अफ द म्याच घोषित भएको आयोजक संस्थाका सचिव संजय गुरुङले बताए । जिल्लाका १६ वटा कलेज सहभागी प्रतियोगिता मंसिर १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजेता टिमले ४० हजार र उपविजेताले २० हजार तथा उत्कृष्ट खेलाडीले ५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । संघका सदस्यसमेत रहेका युवा व्यवसायी विमल सेन्चुरीले आफ्ना स्वर्गीय हजुर बुवा शेरबहादुरको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् ।