गण्डकी विश्वविद्यालय : कुलपति बन्न १० जनाको आवेदन

प्रकाशित मिति:

पोखरा – प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा १० जनाले आवेदन दिएका छन् । कुलपति छनोट गर्नेमा गण्डकी नै पहिलो विश्वविद्यालय हुनेछ । यससँग सम्बन्धि ऐन गण्डकी प्रदेशसभाले असोज ८ गते पारित गरेको थियो । ‘गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन सञ्चालन गर्न बनेको ऐन’ असोज १७ गते राजपत्रमा प्रकाशन भएपछि सरकारले विश्वविद्यालय सञ्चालन प्रक्रियालाई अगाडि बढाएको हो ।

कात्तिक ५ गतेको मन्त्रिपरिषद् बैठकले कुलपति नियुक्ती गर्ने र प्रक्रिया अगाडि बढाउन सामाजिक विकासमन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । सोही समितिको निर्णयको आधारमा सामाजिक विकास मन्त्रालयले कात्तिक २४ गते ‘गण्डकी विश्वविद्यालयको कुलपति छनोट गर्ने प्रयोजनका लागि रोष्टरमा नाम समावेश गर्ने सम्बन्धि सूचना’ जारी गरेको थियो ।

१५ दिने म्यादसहित जारी सूचनाको अन्तिम दिन मंसिर ९ गते सम्म १० जनाले रोष्टरमा नाम चढाएका छन् । मन्त्रालयका उपसचिव भिमप्रसाद तिवारीका अनुसार छ वटा जिल्लाका १० जनाले नाम बुझाएका हुन् । कुलपतिका लागि रोष्टरमा नाम चढाउनेमा डा. प्रमोद ढकाल बाग्लुङ, डा. विमल आचार्य प्युठान, डा. पूर्णकान्त अधिकारी र डा. तीर्थबहादुर थापा लमजुङ, डा. मोतीलाल पराजुली कास्की र डा. भीमलाल गौतम पर्वत रहेका छन् । बाँकी चार जना भने काठमाडौंका हुन् । डा. हेमराज सुवेदी, डा. वासुदेव काफ्ले, डा. वीरेन्द्रराज तिवारी, डा. दीपककुमार खड्का रहेका छन् । यीमध्ये डा. तीर्थबहादुर थापा प्रस्तावित गण्डकी विश्वविद्यालयको सम्भाव्यता अध्ययन समितिका संयोजकसमेत हुन् । उनकै समितिले गण्डकी विश्वविद्यालयको प्रस्तावित लागत पनि पेस गरेको थियो ।