प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्रीसहित मन्त्रीहरु अस्पतालमा

प्रकाशित मिति:

काठमाडौं– एपेन्डिक्सको शल्यक्रिया गरेर अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीहरु अस्पताल पुगेका छन् । गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल तथा मुख्य सचिव लोकदर्शन रेग्मी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् । स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्रीसहित मन्त्रीहरु अस्पताल पुगेपनि प्रधानमन्त्री ओलीसँग भने भेट गर्न दिइएको छैन ।

मिर्गौलाको समेत समस्या भएका कारण संक्रमण बढ्ने जोखिम भएका कारण प्रधानमन्त्रीलाई अन्य व्यक्तिसँग भेट्न दिइएको छैन । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राध्यापक डाक्टर उत्तम कुमार श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थीर रहेको जानकारी दिए । यद्यपि, ओलीलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने बताइएको छ । प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया सकिएपछि अहिले संक्रमण मुक्त (अति विशिष्ट क्याभिन)मा सारिएको छ । उक्त क्याभिनमा सधन उपचारको सम्पूर्ण व्यवस्थापन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।