विवाह महोत्सवमा राष्ट्रपति सहभागी बन्ने

प्रकाशित मिति:

जनकपुर – रामजानकी विवाहोत्सवमा अयोध्याबाट आएका जन्तीलाई राष्ट्रपति विद्या भण्डारीले स्वागत गर्ने कार्यक्रम छ । रामजानकी विवाहोत्सवमै सहभागी हुन राष्ट्रपति भण्डारी जनकपुर पुग्ने कार्यक्रम तय भएको हो । विवाहोत्सवको सबै तयारी पूरा भएको जानकी मन्दिरका पुजारी रामरोशन दासले जानकारी दिए । विवाहोत्सव साताव्यापी विविध कार्यक्रमसहित चल्नेछ । ‘सरसजावट, पन्डाल-टेन्टसहित विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ,’ मन्दिरका पुजारी दासले भने, ‘विवाहपञ्चमी सफल पार्न हामी अहोरात्र जुटेका छौँ ।’

विवाहोत्सवअन्तर्गत मंगलबार जनकपुर दर्शन कार्यक्रम तय गरिएको छ । हरेक ५ वर्षपछि अयोध्याबाट विशेष जन्ती आउने गरेको र यस वर्ष पाँचौं वर्ष परेकोले विवाहोत्सव विशेष रुपले मनाइने तयारी गरिएको छ । २०६१ देखि हरेक ५ वर्षपछि अयोध्याबाट विशेष जन्ती आउने परम्परा सुरु भएको हो । यस वर्ष विशेष जन्तीको रुपमा अयोध्याबाट ५ सयको संख्यामा जन्तीको रुपमा साधुसन्त आउन लागेका छन् । विवाहोत्सवमा सहभागी हुन अयोध्याबाट साधुसन्त जनकपुरका लागि प्रस्थान गरिसकेको र बुधबार पुग्नेछन् ।