अफगानिस्तानलाइ पराजीत गदै नेपालको जित

प्रकाशित मिति:

काठमाडौँ — नेपाली यू–१९ क्रिकेटले अफगानिस्तान यू–१९ सँग हारको शृंखलालाई रोकेको छ । पवन सर्राफको अलराउन्ड प्रदर्शन र सागर ढकालको ४ विकेट सहयोगमा नेपाली यू–१९ क्रिकेट टोलीले चार टिम सम्मिलित यू–१९ क्रिकेट प्रतियोगितामा आइतबार अफगानिस्तान यू–१९ लाई २५ रनले पराजित गर्‍यो ।

भारतीय क्रिकेट बोर्डको आयोजनामा लखनऊको इकाना अन्तर्राष्ट्रिय रंगशाला ‘बी’ मैदानमा टस हारेपछि ब्याटिङ गर्न आएको नेपालले पवनको नटआउट ७८ रनमा ४९.३ ओभर खेल्दै १ सय ८९ रन बनाई अलआउट भयो । अफगानिस्तान यू–१९ लाई नेपालले ४७.४ ओभरमा १ सय ६४ रनमै रोक्यो । २०११ मा आयरल्यान्डमा भएको यू–१९ विश्वकप छनोटमा आयरल्यान्डलाई पराजित गरेयता नेपालले प्रमुख प्रतिद्वन्द्वी बन्दै आएको युद्धग्रस्त राष्ट्रमाथि यू–१९ मा पाएको यो पहिलो जित हो ।

माथिल्लोक्रमका ब्याट्सम्यान लस्करै आउट हुनेक्रमले निरन्तरता पाउँदा पवनले ९६ बल खेली १० चौका र १ छक्का प्रहार गरे । उनले रसिद खानसँग आठौं विकेटका लागि ६५ रन जोडेका थिए । रसिदले ४९ बलमा २ चौकासहित २४ रन बनाए । तल्लोक्रममा किशोर महतो १ र सागर शून्यमा आउट भए ।
माथिल्लोक्रममा तृतराज दास ४, कप्तान आसिफ शेख ३, अरुण ऐरी शून्य, लोकश बम १६, सन्दीप जोरा २८ र भीम सार्की १३ रनमा आउट भएका थिए । कमलसिंह ऐरीले ९ रन जोडे । अफगानिस्तान यू–१९ का नाविद मोहम्मद काविरले १० ओभरमा ४ मेडन राख्दै ३६ रन खर्चेर ३, अविद मोहम्मादी र अरिफ खान दवलतजाईले २–२ विकेट लिए ।
मोहम्मादीलाई नवौं ओभरमा ९ रनमा कमलले बोल्ड गरी नेपाललाई पहिलो सफलता दिलाए, जति खेर अफगानिस्तानको ४० रन थियो । २० ओभरमा ५८ रन बनाउँदा अफगानिस्तानको ४ विकेट गुमिसकेका थिए । पछिल्लो तीनै विकेट सागरले लिएका थिए । सागरले रेयाज हसनलाई ३८ रनमा आउट गरी महत्त्वपूर्ण सफलता दिलाए । उनले आफ्नो लगातार ओभरमा मोहम्मद हसन खान र अब्दुल्लाह नैबको पनि विकेट लिएपछि नेपाल खेलमा हावी हुन थालेको थियो ।
इजाज अहमद मेरानले अब्दुल रहमान मेरानीसँग मिलेर अफगानिस्तानको स्कोर १ सय कटाए । रहमानीलाई सन्दीप जोराले रनआउट गरेपछि नेपालले पाँचौं सफलता पायो । तल्लोक्रममा विकेट झरिरहे पनि तेस्रो नम्बरमा ब्याटिङ गरेका मेरानले डटेर खेल्दा अफगानिस्तानको आशा अझै मरेको थिएन । ९६ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरी ५७ रन बनाए । उनलाई रसिद खानले बोल्ड गरे ।
म्यान अफ द म्याचमा सागर चुनिए । उनले १० ओभरमा ३ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । कमल र रसिदले २–२ विकेट लिए । कमलले ९ ओभरमा १ मेडन राख्दै २८ रन खर्चे । अफस्पिनर पवनले १० ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।

प्रतियोगितामा सहभागी अर्का दुई टोलीमा भारत यू–१९ ‘ए’ र ‘बी’ छन् । आइतबार भएको समूह चरणको अन्तिम खेलमा ‘ए’ ले ‘बी’ लाई १ सय ५२ रनले पराजित गर्‍यो । यी दुई टोली नै आइतबार फाइनल खेल्दै छन् ।