भारतले पाकिस्तान र नेपाललाई हेर्ने आखाँ एउटै : सभापति देउवा

प्रकाशित मिति:

काठमाडौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाकिस्तानलाई जस्तै व्यवहार भारतले नेपाललाई गर्न खोजेको बताएका छन्। लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ता नेपालको भए पनि नक्सा छापेर भारतले पाकिस्तानलाई जस्तै व्यवहार देखाएको देउवाको भनाइ थियो। ‘भारतको व्यवहारले पाकिस्तान र नेपाल उस्तै उस्तै हो भन्नेजस्तो देखिएको छ,’ धरान जाने क्रममा मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग देउवाले भने, ‘भारतले पहिले काश्मीरको नक्सा छाप्यो अनि नेपालको भूमि समेटेर छाप्यो। यसले पाकिस्तान र नेपाल उस्तैउस्तै बराबर हो भन्ने भारतको व्यवहारले देखाउँछ।’

देउवाले नेपालका भूमि समेटेर किन भारतले राजनीतिक नक्सा छापेको भन्दै प्रश्न पनि गरे। ‘कालापानी र सुस्ता विवादास्पद जमिन हो भन्ने मान्दामान्दै किन पाकिस्तान सरह व्यवहार गरेर नक्सा सार्वजनिक गरेको?’ देउवाको प्रश्न थियो। सभापति देउवाले अतिक्रमित भूमि फिर्ता ल्याउन र नक्सा सच्याउनका लागि सरकारले भारतसँग कुटनीतिक पहल नगरेको पनि आरोप लगाए। ‘सर्वदलीय बैठकमा सरकारलाई सीमा विवाद हल गर्न भनेका थियौं, सरकारले अहिलेसम्म पहल गरेन,’ उनले भने। – सेतोपाटी