धकधईबाट उज्यालो सन्देश

प्रकाशित मिति:

भैरहवा, १ असोज । रोहिणी गाउपालिकाको केन्द्र धकधईबाट साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ ।
विकासको लागी सञ्चार” भन्ने मुल नारा सहित हातेमालो विकास तथा सञ्चार केन्द्र प्रकाशक रहने गरि उज्यालो सन्देश प्रकाशनमा आएको हो । सोमबार एक कार्यक्रमका बिच रोहिणी गाउपालिकाका अध्यक्ष सनोज कुमार यादवले उक्त पत्रिकाको विमोचन गरेका हुन । विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले ग्रामीण क्षेत्रका ओझेलमा रहेका खबरहरुलाई प्राथमिकतामा राखी पत्रिका प्रकाशन गर्न आग्रह गरे । उनले अझै पनि प्राय प्रकाशन गृहहरु शहर केन्द्रित रहेको अवश्थामा अब ग्रामीण क्षेत्रमा पनि आफ्नो पहुच पुरयाउन सञ्चार माध्यमलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै पत्रिकाका प्रधान सम्पादक राधेश्याम विश्वकर्माले ग्रामीण क्षेत्रका घटना तथा बिषय वस्तु मुख्य प्राथमिकतामा राखी पत्रिका प्रकाशन गर्ने बताए । जिल्लाको पूर्वि क्षेत्र धकधईलाई केन्द्र बिन्दु बनाई पत्रिका प्रकाशन गरे पनि नजर जिल्लाकै अन्य ग्रामीण क्षेत्रमा समेत यसको शाखाहरु विस्तार गर्ने उनले बताए ।
प्रधान सम्पादक राधेश्याम विश्वकर्माको अध्यक्षता, गाउपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराई, वडा नम्बर २ का वडा अध्यक्ष तथा गाउपालिकाका प्रवक्ता सरोज कुमार पाण्डे, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रिय सदस्य ताहिर अली, संघिय समाजवादी फोरमका ५ नम्बर प्रदेश सह प्रवक्ता बिद्या यादव, राजपाका जिल्ला अध्यक्ष मण्डलका सदस्य प्रशान्त गुप्ता, नेपाली कांग्रेसका जिल्ला सदस्य अकबाल खाँ, युनिक होम्स बोर्डिङ्ग स्कूलका प्राचार्य मनोज कुमार यादव, स्थानिय योगेन्द्र चौधरी लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले धकधई क्षेत्रबाटै प्रकाशित उज्यालो सन्देशलाई सत्य तथ्यमा आधारित रहि जनताको आवाज बनि दिन आग्रह गरेका थिए । पत्रकार पशुपति यादवको सञ्चालन र पत्रिकाका कार्यकारी सम्पादक विवेक विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
पत्रिका प्रत्येक सोमबार प्रकाशित हुने उज्यालो सन्देशका कार्यकारी सम्पादक विवेक विश्वकर्माले जनाए ।