विद्यालयमा राष्ट्रिय गानसँगै नगर गीत

प्रकाशित मिति:

बुटवल – तिलोत्तमा नगरपालिकाका विद्यार्थीले प्रार्थनाको समयमा दुई वटा गान गाउँछन्– एउटा राष्ट्रिय गान, अर्काे नगरको आफ्नै गान । नगरपालिकाले सबै विद्यालयमा नगर गीत गाउन निर्देशन दिएको छ । गत असोज १७ गते नगरपालिकाले सूचना जारी गर्दै सार्वजनिक कार्यक्रममा राष्ट्रिय गानपछि नगर गीत गाउन निर्देशन पठाएको थियो । कतिपय विद्यालयले प्रार्थना समयमा नगर गीत कार्यान्वयन नगरेको भन्दै नगरपालिकाले नगर गीत गाउन उर्दी जारी गरेको छ । ‘कतिपय विद्यालयले सूचना कार्यान्वनय नगरेको पाइएकाले अनिवार्य रुपमा राष्ट्रिय गानसँगै नगर गीत गाउने व्यवस्था मिलाउनहुन अनुरोध छ,’ नगरपालिकाको सूचनामा भनिएको छ, ‘केही विद्यालयमा पुग्दा नगर गीत नबजेको पायौं । त्यसैले फेरि सूचना निकालेर परिपत्र गरेका हौं ।’

नगरपालिकाका शिक्षा शाखाका उपसचिव गंगाराम आचार्यले प्रार्थनाको समयमा राष्ट्रिय गानपछि अनिवार्य रुपमा नगर गीत गाउनुपर्ने बताए । तिलोत्तमा नगरपालिकाले ६६ शब्दको नगर गीत तयार गरेको छ । नगरपालिकाको उर्दीपछि मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयले सोमबारदेखि प्रार्थनासभामा नगर गीत बजाउन थालेको छ । ‘नगरपालिकाले निर्देशन गरेको छ । नगरपालिकाको चिनारी समेटिएको रहेछ । नयाँ अभ्यास हो । हामीले कार्यान्वयन गरेका छौं’, प्रधानाध्यापक कुलप्रसाद लामिछानेले भने ।

विद्यालयमा नगर गीत गाउने प्रचलन अव्यावहारिक देखीएको छ । तिलोत्तमा नगरपालिका–२ योगिकुटीस्थित जनजागृति माध्यमिक विद्यालय बुटवल उपमहानगरपालिको सिमानामै पर्छ । विद्यालयमा ३५ प्रतिशत जति विद्यार्थी बुटवल उपमहानगरबाटै आउने गरेको जनजागृतिका प्रधानाध्यापक टंकप्रसाद पौडेलले बताए । ‘नगरपालिकाले भनेपछि हामीले पनि नगर गीत गाउन सुरु गरेका छौं,’ उनले भने, ‘यहीं स्थायी बसोबास गर्नेलाई त ठीकै होला । अब अध्ययन तथा व्यवसायका लागि अरू ठाउँबाट आएकाले पनि गाउनुपर्ने भयो ।’ नगरपालिकाको सिद्धार्थ बोर्डिङ स्कुलमा आधाजसो विद्यार्थी बुटवलबाट पढ्न आउँछन् । विद्यालयका प्रिन्सिपल यमबहादुर रानाले नगर गीतको कार्यान्वयन गर्न बाँकी रहेको बताए । उनले भने, ‘भरखर भरखर मात्र थाह भयो । कसरी गर्ने भनेर छलफल गर्दैछौं ।’

गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाबाट अध्ययन, जागिर र व्यवसाय गर्नकै लागि मानिस यहाँ छन् । उनीहरुका बालबच्चा विद्यालयमा पढ्छन् । स्थायी ठेगाना नभए पनि उनीहरूले जबरजस्ती नगर गीत गाउनुपरेको छ । बुटवल बहुमुखी क्याम्पसका शिक्षा संकाय प्रमुख प्रा. डा. नारायण बेलवासेले नगरपालिकाले लागू गरेको नगर गीत अव्यावहारिक भएको बताए । ‘विद्यार्थीलाई आफ्नो क्षेत्रबारे जानकारी गराउनुपर्छ । त्यसका लागि स्थानीय पाठ्यक्रम बनाउनुसम्म त राम्रो हो,’ उनले भने ‘सबै स्थानीयकरण गर्न खोज्नु उचित होइन ।’ यो खबर अन्नपूर्णमा सुदिप भण्डारीले लेखेका छन ।