बुढी आमाको साहास : ८२ बर्षीया बडिबिल्डर ! घरमा पसेको चोरलाई पछार्दा विश्वभर चर्चा

प्रकाशित मिति:

एजेन्सी – ८२ वर्षीया महिला एक्लै बस्दै आएको चाल पाएपछि न्युयोर्कस्थित एउटा चोर दाउ छोपेर बिहीबार राति जबरजस्ती तिनको घरमा पस्ने प्रयास गर्यो । तर उक्त चोरका लागि सो दिन जीवनकै सबैभन्दा खराब साबित भएको हो जसबारे हाल अन्तर्राष्ट्रिय मिडियामा अधिक चर्चा भइरहेको छ । वास्तवमा ८२ वर्षीया ती महिला एक बडिबिल्डर हुन् र उनी दैनिक कठोर शारीरिक अभ्यास गर्ने गर्दछिन् । यस्तोमा कमजोर ठानेर चोरले उनी एक्लै भएको फाइदा उठाउन खोज्दा उल्टै चोर उनको शिकार बनेको हो । विली मुर्फी नामक ती महिला रातिको ११ बजे सुत्न लाग्दैगर्दा अचानक एकजनाले म बिरामी छु एम्बुलेन्स बोलाइदिनु भनेर ढोका ढकढाइरहेको थियो ।

तर मुर्फीले ढोका खोलिनन् र पुलिसलाई खबर गरिन् जसले सो व्यक्तिलाई आक्रोशित बनायो र उनी जबरजस्ती मुर्फीको घरभित्र पसे । उनले वाहाम टीभीसँगको कुराकानीमा भनेकी छन,‘मैले अचानक एउटा ठूलो आवाज सुनेँ । जसपछि त्यहाँ पुगेर हेर्दा ती व्यक्ति मेरो ढोका फुटाएर घरभित्र पसिसकेका रहेछन् ।’

अवार्डसमेत जितिसकेकी ती बडि बिल्डरले त्यसपछि नजिकैको टेबल उचालेर चोरलाई बेस्सरी हानिन् । मुर्फीका अनुसार उनी सजिलै १०२ किलो सम्मको भार उठाउन सक्छिन् । उनी भन्छिन, ‘हो म एक्लै छु र म बूढी भइसकेँ तर म अझै बलियो र बहादुर छु ।’ त्यसरी हान्दा टेबल भाँचिएपछि मुर्फीले चोरलाई पुलिस नआउन्जेल स्याम्पुको बट्टा र कुच्चोले हानेको उनले बताइन् । उनका अनुसार पुलिस घरमा आइपुगेपछि उनीहरुको पहिलो प्रतक्रिया उनीसँग सेल्फी लिनु थियो । सबैले चोरको अवस्था र उनको बहादुरीता देखेर उनीसँग तस्बिर खिचाउन चाहेको उनी बताउँछिन् । यसपछि उनलाई त्यस समाजको हिरोको रुपमा सम्मान गरिएको हो । अन्त्यमा उनले भनिन,‘पक्कै पनि त्यो चोरले गलत घर चुन्यो ।’