यी ६ जना, जसले नक्कली चेक छपाए, किर्ते हस्ताक्षर गरे र निकाले २० लाख रूपैयाँ

प्रकाशित मिति:

काठमाडौ – प्रहरीले नक्कली चेक बनाएर अरुको हस्ताक्षर किर्ते गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हाल कालीमाटी बस्दै आएका काभ्रेपलाञ्चोक पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका हाल बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोकका हाल सुविधानगर बस्ने गोविन्द घिमिरे रहेका छन्। जनता बैंकका खातावाल गोपालमान राजवाहकले मंसिर ८ गते राति आफ्नो खाताबाट पटक पटक गरी १९ लाख ९ हजार रुपैयाँ निकालेको मोबाइल मेसेज आएको तर आफैँ कुनै पनि चेक कसैलाई नदिएको भन्ने पीडितको सूचना परिसर काठमाडौंमा दिए।

त्यसपछि प्रहरीको विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरी पीडितको खाता तत्काल चेक गर्दा नक्कली चेकबाट पैसा निकाल्न सफल भएको देखिएको प्रहरीले जनाएको छ। खोजतलासका क्रममा मंसिर ९ गते पीडितको खाताबाट पैसा निकाल्न पुनः चेक बोकी एक जना व्यक्ति जनता बैंक न्युरोड शाखामा आएको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि अन्य व्यक्ति पनि सोही दिन पक्राउ परेका थिए।

उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, २ सय ९० वटा नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिष्ट्रर २६ थान, दुईवटा हस्ताक्षर नमूना भएको डायरी, अन्य व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको तीन सय थान फारम, १ सय ९५ जनाको बैंक स्टेटमेन्ट बरामद भएको छ। त्यस्तै, जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको १६ वटा चेकबुक, काटिएको अवस्थाको ४१ वटा चेकबुक, ज्योति विकास बैंकबाट अन्जन बरालको नाममा जारी भएको एउटा चेकबुक, एभरेस्ट बैंकबाट विभिन्न व्यक्तिको नकाटिएको २० थान चेकबुक, काटिएको ३ थान चेकबुक समेत बरामद भएको छ। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।