मदिराले मातेका वडा अध्यक्षले काँग्रेसका युवालाई नराम्ररी कुटेपछी …

प्रकाशित मिति:

दाङ – बबई गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर डाँगीले नेपाली काँग्रेसका दुई युवामाथि कुटपिट गरेका छन् । गएराति साढे १० बजेतिर मदिराले मातेर प्रहरीको भ्यानमा चढेर आएका वडा अध्यक्ष डाँगीले आफुलाई एक्कासी कुटपिट गरेको काँग्रेसका युवा गणेश देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार वडा अध्यक्ष ईलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी प्रमुख निरीक्षक डाक्टरप्रशाद चौधरीको गाडिमा गएका थिए । आफुहरुमाथि आक्रमण हुँदा प्रहरी रमिते मात्रै बनेको देवकोटाले आरोप लगाए । ‘उनीहरुले रातिमा घुमिरहेका थिए, नेपाली काँग्रेस मुर्दावाद र नेकपा जिन्दावाद भन्ने नारावाजी गरिरहेका थिए।

हामी सडकमा थियौं,’ देवकोटाले भने ‘ त्यही क्रममा प्रहरीको गाडीमा बसेर आएका उहाँले म माथि हल्ला गर्ने भन्दै झपाझप हान्नु भयो।’ देवकोटाले वडा अध्यक्ष मदिरामा मातेको तालमा आफु र अर्का काँग्रेसका युवा सुरेश खड्का माथि समेत हातपात गरेको आरोप लगाए । ‘प्रहरीको गाडिमा आएका वडा अध्यक्षले मलाई अनाहकमा दुई झापट हान्नु भयो र त्यसको विरोध गर्दा खड्कालाई पनि कुटपिट गर्नु भएको हो ।’ वडा अध्यक्ष डाँगीले भने आफुमाथि लगाइएको आरोप गलत भएको दाबी गरे ।

‘मैले उनीहरुलाई सम्झाई बुझाई गरेर घर जाउ भनेर पठाएको मात्रै हुँ,कुटेको हैन,’ डाँगीले भने । त्यतिबेला आफु चुनाव प्रचारको लागि नभइ एकजना बृद्ध विरामी परेको हुँदा सशस्त्रको गाडि लगेर उद्धारको लागि पुगेको अध्यक्ष डाँगीले जिकिर गरे । वडा अध्यक्ष डाँगी नेकपावाट निर्वाचित व्यक्ति हुन भने कुटाई खाएका भनिएका युवाहरु मध्य ३० बर्षीय देवकोटा बबई वडा नं. ६ का तरुण संयोजक र २५ बर्षीय खड्का उपसंयोजक हुन ।

मदिराले मातेका दुई पक्षलाई प्रहरीले रोकेको मात्रै हो – एसपी दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले भने घटनालाई मदिराले मातेका दुई पक्ष बीचको विवाद मात्रै भएको जानकारी दिए । ‘ नेकपाका वडा अध्यक्ष र काँग्रेसका युवाहरुको बीचमा हुन सक्ने संभावित झडपलाई मध्यनजर गर्दै प्रहरीले उनीहरु दुबै पक्षलाई संझाई बुझाई पठाएको मात्रै हो,’ एसपी भट्टराईले भने ‘त्यहाँ धकेला धकेल सम्म भएको भन्ने मलाई जानकारी छ ।’ काँग्रेस निकटका युवाहरुले आफुले मदिरा सेवन नगरेको दाबी गरेता पनि एसपी भट्टराईले भने दुबै पक्षले मदिरा सेवन गरेको हुँदा विवाद भएको जानकारी दिए । ‘वडा अध्यक्षलाई प्रहरीले गाडी हालेर लगेको भन्ने कुरा सही हैन,’ एसपी भट्टराईले भने ‘ यो चुनावको समयमा तठष्ट भूमिका निर्वाह गर्ने प्रहरीले कदापी त्यस्तो गर्दैन।’ युवाहरु आपसमा झगडा परेपछि निर्वाचनको मुखमा राजनीतिक जलप लगाउने गरेको हुन सक्ने उनले तर्क गरे ।

तुलसीपुरमा काँग्रेसका अर्का युवामाथि पनि कुटपिट तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँमा पनि अर्का एक नेपाली काँग्रेसको युवामाथि आक्रमण भएको छ । यो पनि प्रदेशसभा सदस्य पदको निर्वाचन भइरहेको क्षेत्रमा पर्छ । सोमवार राति १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ हस्नापुर निवासी २० बर्षीय कृष्णबहादुर बस्नेतमाथि एकाएक नकेपाका युवाहरुले आक्रमण गरेर घाइते तुल्याएका छन् ।

तुलसीपुर १० गौरीगाउँ निवासी विनायक खड्कासंगै मोटरसाईलकलमा चढेर आएका सोही वडाको पढ्ढा निवासी विराज बस्नेतले कुटपिट गरेको अस्थायी प्रहरी पोष्ट जस्पुरका प्रहरी सहायक निरीक्षक नेत्र नेपालीले जानकारी दिए । घाइते बस्नेतले आफुलाई विराज बस्नेतले लुकाएर ल्याएको वियरको बोत्तलले एक्कासी ठाउकोमा हिर्काएर भागेको जानकारी दिए । आक्रमण वाट बस्नेतको टाउकोमा गहिरो चोट लागेको छ ।

घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । घटनाको बारेमा पीडित पक्ष प्रहरीमा उजुरी दिन जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको आरोप लगाएको छ । तर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले भने आफुकहाँ जाहेरी लिएर कोही नआएको र बाहिर बाहिरै मिलाउने प्रयास भइरहेको भन्ने सूचना आफुले पाएको जानकारी दिए । घटनाप्रति नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले निन्दा गरेका छन् । उनले त्यसलाई पराजित मानसिकताको संज्ञा दिए । साथै निर्वाचन शान्ति पूर्ण र भएरहित वनाउन सत्तासिन दलले प्रहरी प्रशासनको आडमा दमन र कुटपिट तत्काल नरोके सैह्य नहुने चेतावनी दिए । – फरककोणबाट साभार