हामीले न्याय कहिले पाउँछौं, न्याय पाउँछाै‌ कि पाउँदैनौ : निर्मलाका अभिभावक

प्रकाशित मिति:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा र यस प्रकरणका अन्य दोषिलाई उम्कन नदिने बताएका छन्।

निर्मला पन्तका परिवार सहित सुदूर पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तथा अधिकारकर्मीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले घटनाको अनुसन्धानमा सरकार गम्भीर रहेकाले दोषी जो सुकै भएपनि न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे।

उनले घटनाको सत्य तथ्य पत्ता लगाउन शक्तिशाली छानबिन समिति गठन भइसकेको बताउँदै दोषीलाई कानुनको कठघरामा ल्याएरै छोड्ने बताए।

त्यस अवसरमा निर्मलाका अभिभावकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ‘हामीले न्याय कहिले पाउँछौं, न्याय पाउँछाै‌ कि पाउँदैनौ? भनेर सोधेका थिए।

भेटमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने भीम रावल, लेखराज भट्ट, दिलेन्द्र प्रसाद बडु, एनपी साउद, बिना मगर, निरु पाल लगायतका नेताहरु र अधिकारकर्मी सहभागी थिए।

यसैबीच राससले जनाएअनुसार निर्मलाको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारवाहीकोमाग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन नसक्ने बताए।

उनले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउँदै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्ध भएकाले निलम्बनसमेत गरिएको र पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले भने, “प्रारम्भिक छानबिनमा त्यहाँका प्रहरीको भरपर्दा दोषी पत्ता लगाउने काममा ढिलाइ भयो। प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न मिल्दैन। त्यसैले राज्यले छानबिन गर्छ। कुनै जुलुस र धर्ना नभए पनि राज्यले कानूनी कारवाही गर्छ। दोषीलाई बचाउने कुरा सोच्न पनिसकिन्न।”

ओलीले यस्ता आपराधिक घटना र मनोवृत्तिलाई सामान्य रुपमा लिन नहुने बताउँदै कुनै पनि हालतमा अपराधीले छुट नपाउने बताए। कञ्चनपुरमा गत साउन १० गते निर्मलाको शव उखुबारीको पानीमा भेटिएको थियो। निर्मलाकी आमा दुर्गामायाले अपराध लुकाउन प्रमाण नष्ट गरिएको र ६० दिन बित्न लाग्दा पनि दोषीमाथि कारवाही नभएकाले बाध्य भएर प्रधानमन्त्रीसँग न्याय माग्न आएको गुनासो गरिन।

नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले अपराधीलाई कानूनको कठघरामा ल्याउन सरकारले कुनै कदम बाँकी राख्न नहुने बताए। नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले कञ्चनपुरवासीलाई न्याय दिन र त्यहाँको वातावरण शान्तिपूर्ण बनाउन प्रमुख प्रतिपक्षलगायत सबै दल लागिरहेकाले सरकारले दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने माग गरे।