जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : मन्त्री यादव

प्रकाशित मिति:

जनकपुर – उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट पारेका छन्। जनकपुरधाममा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताए। उनले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसङ्ग भ्रामक भएको टिप्पणी समेत गरे। एक प्रश्नको जवाफमा उपप्रधानमन्त्री यादवले आफूसँग गौर हत्या काण्डको प्रसङ्ग उल्लेख गरी मधेशलाई दबाउने मनसाय राख्नु गलत मानसिकता हो भनी उल्लेख गरे।

संविधानलाई गतिशील बनाउन संशोधन आवश्यक रहेको चर्चा गर्दै उनले संविधान अपूर्ण रहेकाले संशोधन हुनैपर्छ भन्नेमा जोड दिए। समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टीले एकीकरणका लागि समाजवादी पार्टीको सरकारमा सहभागितालाई बाधक मान्न नहुने बताए। – रासस