मकालु शोप एण्ड केमिकल इण्डस्ट्रिजमा ठुलो आगलगी ,करिब ५ करोडको क्षति

प्रकाशित मिति:

वीरगन्ज – वीरगन्ज पथलैया औद्योगिक करीडोमा रहेको मकालु शोप एण्ड केमिकल इण्डस्ट्रिजमा सोमवार बिहान ठुलो आगलगी भएको छ। आगलगीमा उद्योगको संरचना, तयारी उत्पादन र कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक अरबिन्दकुमार साहका अनुसार बिहान करिव साढे ७ बजे तिर लागेको आगो २ घण्टा पछि निन्त्रणमा आएको थियो। चार वटा बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र उद्योगका कर्मचारीले आगो नियन्त्रणमा लिइएको साहले बताए। वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका र नेपाल आयल निगमका गरी चारवटा दमकलको मद्दतले आगो नियन्त्रणमा आएको हो।

बिश्वकर्मा पूजाको तयारी चलिरहँदा कारखानामा आगलागी भएको हो। पर्साका प्रहरी नायव उपरीक्षक सत्यनरायण थापाले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको बताए।

साबुन बनाउन प्रयोग हुने तेल, केमिकल र प्याकिङ्गका लागि राखिएका कार्टुनलाई आगोले भेटाएपछि आगो अनियन्त्रित भएको कारखानाका कामदारले बताएका छन्।

आगलागीबाट करिब ५ करोड बरावरको क्षति भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरिक्षक साहले बताए। प्रहरीले क्षतिको विवरण संकलन गर्नुका साथै आगलागीको कारणबारे अनुसन्धान थालेको जनाएकाे छ।