कक्षाकोठामै बनाउन थाले विद्यार्थीले लिम्पियाधुरासम्मको नक्सा

प्रकाशित मिति:

झापा/झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू-भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ ।कक्षा ७ को सामाजिक शिक्षा विषयमा ‘राष्ट्रियता’ सम्बन्धी पाठ पढाउने क्रममा शुक्रबार लिम्पियाधुरासम्मको भू–भागसहित नक्सा कोर्न सिकाइएको सामाजिक शिक्षक रत्न बुढाथोकीले जानकारी दिए ।सुगौली सन्धीमा नेपालको पश्चिम सीमा कालीनदी कायम भएको र कालीनदीको मुहान लिम्पियाधुरा भएको बारेमा जानकारी दिएर नक्सा कोर्न लगाउँदा विद्यार्थीमा राष्ट्रियता र सीमासम्बन्धी चेतना बढेको बुढाथोकीले बताए ।

‘आफ्नो देशको माटोबारे विद्यार्थीलाई जानकारी गराउनु कर्तव्य सम्झेर हामीले नक्सा कोर्न सिकाएका हौँ’, बुढाथोकीले बताए ।८ सय विद्यार्थी अध्ययनरत लक्ष्मी माविको कक्षा ७ मा ८० विद्यार्थी छन् । विद्यार्थीले बनाएको नेपालको नयाँ नक्सामा ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो’ भन्ने नारा लेखिएको छ । सो नक्सा विद्यालयमा राखिएको छ ।

थप समाचार