निर्बाचन अपडेट :कपिलवस्तुमा ५० प्रतिशत मत खस्यो

प्रकाशित मिति:

मनोज श्रीवास्तव/कपिलबस्तु – कपिलबस्तुको शिवराज नगरपालिका १० लालपुरका मतदान केन्द्रमा अहिलेसम्म ५० प्रतिशत मत खसिसकेको छ । वडाका दुईवटै मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको हो । वडामा रहेका २ हजार ७२ मतदाता मध्ये बिहान ११: ३० बजेसम्म १ हजार बढी मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी दिए ।वडाका लालपुर र शितलापुर आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको छ भने तीन वटा मतदान केन्द्र निर्धारण गरिएको छ । सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

वडामा २ हजार ७२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । शितलापुरमा ९०४ र लालपुरमा ११६८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदान पश्चात दलहरुवीच दलीय सहमती भए आज बेलुकाबाटै मतगणना सुरु हुने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । मतगणना मुख्य निर्वाचन कार्यालय चन्द्रौटा परिसरमा गर्ने तयारी गरिएको उनले बताए ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि रिक्त रहेको पदमा अहिले उपनिर्वाचन हुन लागेको हो ।वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहार उम्मेदवार छन् । यस्तै स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहार चुनावी मैदानमा छन् । News24