धरान उपमहानगरपालिकामा ५० प्रतिशत मात्र मत खस्यो

प्रकाशित मिति:

धरान /उपनिर्वाचन अन्र्तगत सुनसरीको धरान उपमहानगरपालिकामा जारी निर्वाचनमा अपरान्ह साढे ३ बजेसम्ममा ५० प्रतिशत मत खसेको छ ।निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार धरानमा ५० प्रतिशत मत खसेको हो । धरानको मतदाता संख्या ९२ हजार ८ सय ५३ रहेको छ ।अघिल्लो पटकको निर्वाचनमा धरानमा ६७ दशमलव ८६ प्रतिशत मत खसेको थियो । सो बेला धरानको मतदाता संख्या ७९ हजार २ सय ९० रहेको थियो ।जसमध्ये ५३ हजार ८ सय १२ मत खसेको थियो । यस पटक भने धरानमा १३ हजार बढी नयाँ मतदाता थपिएका छन् ।

धरानमा सबैभन्दा बढी वडा नम्बर १५ मा १३ हजार ५३ मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता वडा नम्वर ७ मा छन् ।जहाँ रिक्त रहेको वडाध्यक्ष पदकालागि समेत निर्वाचन भैरहेको छ । सो वडामा २ हजार २५ मतदाता रहेका छन् ।मेयर पदकालागि नेकपा र नेपाली काँग्रेसका उम्मेद्वारबीच प्रमुख प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।मेयर पदकालागि नेकपाका तर्फबाट प्रकाश राई र नेपाली काँग्रेसका तिलक राई उम्मेद्वारका रुपमा चुनावी प्रतिष्पर्धामा छन् । मेयर पदकालागि स्वतन्त्र सहित २३ जना चुनावी मैदानमा उत्रिएका छन् ।यसअघिका निर्वाचनमा एमालेले बाजी मार्दै आएको धरानमा २०७४ को स्थानीय तहको निर्वाचनमा समेत एमालेलेनै बाजी मारेको थियो । एमाले तर्फका उम्मेद्वार तारा सुब्बाले ४ हजार ८ सय ७३ मतान्तरले जित हात पारेका थिए ।उनले नेपाली काँग्रेसका तिलक राईलाई पराजित गरेका थिए । त्यसबेलाको चुनावमा एमाले र नेकपा माओवादीबीच एकीकरण भएको थिएन् ।तारासँग पराजित तिलक राई नै यस पटकको उपनिर्वाचनमा समेत मेयर पदकालागि काँग्रेसबाट चुनावी मैदानमा छन् । धरानमा रिक्त रहेको मेयर र वडाध्यक्ष पदकालागि निर्वाचन भैरहेको छ ।यसैबीच चार बजेसम्ममा धनपालथान वडा नम्बर २ को वडाअध्यक्ष पदका लागि ४०७४ मत मध्ये ३२५७ मत खसेको छ ।