महोत्सव सकिन लाग्दा दर्शकको ओइरो :एकैदिन ४० हजार दर्शक

प्रकाशित मिति:

भैरहवा/महोत्सव सकिनै लाग्दा भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा दर्शकको भिड बढेको छ ।
मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव सकिन अब २ दिनमात्र बाँकी हुँदा दर्शकको उत्साह र सहभागिताले आयोजक निकै सन्तुष्ट देखिएका छन् । महोत्सवमा १४ गते शनिबार मात्र एकैदिन ४० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । विगतका महोत्सव हरुमा शनिबार मात्र महोत्सवमा दर्शकको चाप बढ्ने गरेको अनुभव सुनाउँदै यस पटकको महोत्सवमा शनिबार दर्शक बढी हुनु स्वभाविक भएपनि अन्य दिनपनि दर्शकको उपस्थितिले आफुहरु सन्तुष्ट भएको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए । साथै शनिबार मात्र महोत्सवमा २ करोडको कारोबार भएको संयोजक भण्डारीले बताए ।

दर्शकको चाप बढी भएपछि आयोजकले दर्शकलाई सहजै टिकटको व्यवस्थापन गर्नको लागि नियमित टिकट काउण्टरको अलवा ५ वटा टेबल बाट टिकट उपलब्ध गराएर भिडको व्यवस्थापन गरिएको सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले बताए ।दर्शक मात्र नभइ यस पटकको महोत्सवमा स्टलको पनि भैरहवाको इतिहासमा सबैभन्दा बढी सहभागिता रहेको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए । उनका अनुसार महोत्सवमा ४ सय स्टल दर्ता भएका थिए ।
उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा दर्शकहरुले महोत्सव स्थलमा निर्माण गरिएको मायाँदेवी मन्दिर र सो भित्र राखिएका विभिन्न पर्यटकीय स्थलहरु अत्यन्तै रुचाएका थिए । साथै पशुपतिनाथ मन्दिर आकृतिको सचिवालय, सेल्फि जोन, मायाँदेवी मन्दिर आकृतिको प्रवेशद्वार लगायतमा सेल्फि लिनेको निकै भिड देखिएको थियो । शनिबार महोत्सवको आकर्षणको रुपमा रहेका आधुनिक गायक हेमन्त शर्मा, राजनराज शिवाकोटी, लोक तथा दोहोरी गायक बसन्त लम्साल, गायिका भूमिका गिरी, शुशिला गौतम, जनगायक जीवन शर्मा लगायत विभिन्न स्थानीय कलाकार लगायतले दर्शकलाई निकै रमाइलो प्रदान गरेका थिए । १६ गतेसम्म संचालन हुने महोत्सवमा २५ करोडको आर्थिक कारोवार तथा ३ लाख दर्शकलाइ अवलोकन गराउने आयोजकको लक्ष्य छ ।