गलत निर्णय लिनबाट यसरी बच्नुस्

प्रकाशित मिति:

काठमाडौं/छिटो निर्णय लिन सक्नु व्यक्तिको महत्वपूर्ण क्षमता हो । तर, निर्णय छिटो लिएर मात्र हुँदैन, लिएको निर्णय सही र दीर्घकालसम्म सकारात्मक असर दिने खालको हुनुले चाहिँ खास महत्व राख्छ । यस अर्थमा मान्छेमा छिटो निर्णय लिन सक्नेभन्दा पनि सही निर्णय लिन सक्ने क्षमता हुनुपर्छ ।हामी हरेक दिन दर्जनौँ निर्णय लिन्छौँ । तीमध्ये महत्वका हिसाबले केही साना होलान्, केही ठूला । त्यसमा केही निर्णय सही हुन्छन्, केही गलत भइदिन्छन् । तर, एउटा सुखद् र निस्फिक्री जीवन जिउनका लागि हामीले हमेसा सही निर्णय लिन सक्नुपर्छ ।

यसै पनि निर्णयमा पुग्न सजिलो छैन । त्यसमाथि, के निर्णय राम्रो र के नराम्रो हुन्छ भन्ने ठम्याउन झन् कठिन छ, चाहे निर्णय ठूलो होस् या सानो । हाम्रो निर्णय क्षमतालाई धेरै कुराले प्रभावित गरिरहेको हुन्छ । तर, निर्णय लिँदा आफूलाई के कुराले प्रभावित गर्दै छ, हामीलाई पत्तै हुँदैन ।केही उपाय छन्, जसको प्रयोगबाट हामी राम्रो निर्णय क्षमता विकास गर्न सक्छौँ । हेरौँ, गलत निर्णय लिनबाट बच्नका लागि विज्ञका केही सुझाब–भावुक भएर कहिल्यै निर्णय नलिनुस्-हामी जोसँग छौँ, जे गरिरहेका छौँ, ती मान्छे र कामसँग हाम्रो भावना जोडिएको हुन्छ । यस्तो भावनाले हाम्रो निर्णयलाई प्रभावित गर्छ । त्यसैले, कुनै पनि व्यक्ति वा कामबारे निर्णय लिँदा त्यससँग आफ्नो भावना जोडिएको छ भन्ने ख्याल गर्नुस् । तपाईं भावुक भएको अनुभव भइरहेछ भने त्यस्तो वेला निर्णय लिनबाट आफूलाई रोक्नुस्, केही समय निर्णयलाई टारिदिनुस् । अक्सर हामी भावनामा बगेर गलत निर्णय लिन्छौँ । यस्तो हुनबाट बच्नुस् । जब तपाईं भावनात्मक रुपमा सन्तुलित हुनुहुन्छ, तब शान्त दिमाग र मनले सोचेर निर्णय दिनुस् । यसो गर्दा अहिले लिएको निर्णयले पछि पछुताउनुपर्ने सम्भावना निकै न्यून हुन्छ ।

मनको कुरा सन्नुस्-यदि तपाईंको मनमा कुनै निर्णयलाई लिएर शंका उत्पन्न भइरहेको छ वा यसो गर्दा पछि के होला जस्तो लागिरहेको छ भने त्यस्तो वेला निर्णय नगर्नुस् । कहिलेकाहीँ मान्छेले धेरै सोचेर लिएको निर्णय पनि गलत साबित हुन सक्छ । धेरै सोच्ने बानीले मान्छेमा नकरात्मकता पनि सिर्जना गर्न सक्छ । सोच्ने वेलामा आफूमा कति नकारात्मकता उत्पन्न भएको छ भन्ने पनि ख्याल गर्नुपर्छ ।तपाईंको सोच्ने तरिका नै नकारात्मक छ भने त कुरै छुट्टै भयो । तर, यदि तपाईंको दिमागमा कुनै विषयलाई लिएर एकदमै दुविधा भइरहेको छ भने त्यस्तो वेला मनको कुरा सुन्नुस् । मनको भित्री तहले के भनिरहेको छ, सुन्ने, बुझ्ने प्रयास गर्नुस् र त्यसैअनुरुप निर्णय लिनुस् । मनको कुरा सुन्नुअघि त्यस विषयमा राम्रोसँग अध्ययन, अनुसन्धान गर्न भने नभुल्नुस् ।असल नियत राखेर निर्णय लिनुस्-तपाईंले निर्णय लिँदा राखेको नियतले नै निर्धारण गर्छ, तपाईंको निर्णय कालान्तरमा राम्रो हुन्छ या हुँदैन । राम्रो नियत राखेर लिइएका अधिकांश निर्णय तत्कालका लागि गलत नै देखिए पनि भविष्यमा गएर सही साबित हुन्छन् । निर्णय लिनुअघि त्यसको कारणबारे प्रस्ट हुनुस् । जुन निर्णय लिनुको कारण नै असल र स्पस्ट छैन, त्यो निर्णयले लिने प्रतिफल राम्रो हुनै सक्दैन । त्यसैले, निर्णय लिँदा आफू के नियत राखेर र के कारणले निर्णय लिन जाँदै छु भन्नेमा स्पष्ट हुनुस् ।मानौँ, तपाईं एउटा जागिर गर्दै हुनुहुन्छ, तर त्यो जागिर तपाईंको आफन्तहरुलाई परेको छैन । र, तपाईंले उनीहरुको खुसीका लागि जागिर छाड्ने निर्णय गर्नुभयो । उनीहरुको खुसीको कुरा त छँदै छ, तपार्इं स्वयम् चाहिँ खुसी हुनुहुन्छ कि हुनुहुन्न, निर्णय लिनुपूर्व राम्रोसँग सोच्नु आवश्यक छ । अरुको खुसीका लागि जागिर छोडेर आफू खुसी भइँदैन जस्तो लाग्छ भने नछोड्नुस् । जागिर छोड्नुको साटो आफन्तलाई सम्झाउने, बुझाउने प्रयास गर्नुस् ।असहज भइरहेको वेला निर्णय नलिनुस्-कुनै निर्णय लिँदा तपाईंलाई असहज भइरहेको छ भने त्यस्तो वेला निर्णय नलिनुस् । निर्णय लिनु सजिलो काम होइन । निर्णय लिँदा मान्छेलाई शारीरिक र मानसिक रुपमा धेरै दबाब हुन्छ । यसैकारण तपाईंलाई शारीरिक, मानसिक र भावनात्मक रुपमा थकान महसुस हुन सक्छ । तपाईंलाई पहिलेदेखि नै तनाव दिइरहेको विषयमा तत्कालै निर्णय गर्नुभयो भने तपाईं झन् दुस्चक्रमा फस्न सक्नुहुन्छ । निर्णय लिन असहज भइरहेका वेला सकेसम्म निर्णय नलिनुस् । आफैँलाई केही समय दिनुस्, र निर्णय गर्नुस् ।