निशुल्क शिक्षा कार्यान्वयन गर्न स्रोता समुहको दबाब

प्रकाशित मिति:

सुर्खेत, १६ मंसिर । भेरीगंगा नगरपालिका–११ रामघाट स्थित शिखर रेडियो स्रोता समुहमा १५ जना विद्यार्थीहरुको समुह छ । उनीहरु महिनामा २ पटक पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तरगत इक्वेल एक्सेसले उत्पादन गरेको रेडियो कार्यक्रम साझाबोली सुन्छन् । कार्यक्रम सुनिसकेपछि समुहमा छलफल गरी सरोकारवाला निकाय संग त्यसको सल्लाह, सुझाव र जवाफ माग्छन् । सदा झैे मंसिर २ गते स्रोता समुहले साझाबोलीको केन्दीय संस्करणको ७५ औं अंक सुने । त्यस कार्यक्रम भित्र निशुल्क शिक्षाका बारेमा सरकारले ल्याएका नीति नियम र यसको कार्यान्वयनको अवस्था बारे जानकारी दिइएको थियो । स्रोता समुहका सदस्यहरु नै पढ्ने शिखर माध्यामिक विद्यालयमा भने चर्को शुल्क लिएर अध्यापन गराउने गरेको थियो । कार्यक्रमबाट उनीहरुले निशुल्क शिक्षाका बारेमा त्यति धेरै सुविधा पाउने जानकारी पाएपछि आफ्नो विद्यालयमा पनि के कस्तो रहेछ भनेर जान्ने रुचि राखे ।

स्रोता समुहकी अध्यक्ष सिर्जना रसाइलीको नेतृत्वमा विद्यालयका प्रध्यानाध्यापक संग सोधपु्छ तथा छलफल गर्ने उनीहरुले निर्णय गरे । आइतवार स्रोता समुहमा बसेका विद्यार्थीहरुको समुहले विद्यालयका प्रध्यानाध्यापक दानबहादुर चन्द संग निशुल्क शिक्षाका बारेमा विद्यालयले गरेका प्रयासहरुका बारेमा छलफल गरे । सरकारले कक्षा १० सम्म निशुल्क शिक्षा भनिएता पनि विभिन्न बाहानामा विद्यालयले मनलाग्दी शुल्क लिएको बारे स्रोता समुहका विद्यार्थीहरुले गसनासो राखे । विद्यार्थीको गुनासोको सम्बोधन गर्दै प्रध्यानाध्यापक चन्दले शुल्क लिनु बाध्यता भएको बताए । निजी स्रोतका शिक्षक र विद्यालयका भौतिक कार्यमा सरकारको लागनी नहुने भएपछि अभिभावक सहयोग भनेर विद्यार्थीबाट शुल्क लिने गरेको उनले बताए । ‘भेरीगंगा नगरपालिका संग समन्वय भइरहेको छ, अबको नयाँ वर्ष २०७७ सालमा हामी विद्यार्थी बाट कुनै पनि शुल्क लिने छैनौं ।’ प्रध्यनाध्यापक चन्दले भने, नगरबाट हामीलाई छुट्टै बजेट आएपछि विद्यार्थीबाट एकरुपैयाँ शुल्क लिइने छैन ।समुहका विद्यार्थीहरुले संविधानको धारा ३१ को उपधारा २ मा व्यवस्था भएको आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्म निशुल्क हुने व्यवस्था कार्यान्वयनका लागि छलफल मार्फत सुझाव दिएका छन् । छलफल कार्यक्रममा स्रोता समुहकी सहजकर्ता पुष्पा खड्का, पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तरर्गत सुन्दर नेपालकी सामुदायिक अनुसन्धानकर्ता मिना शाही, सामुदायिक सञ्चारकर्मी जगतदल जनाला विक, रेडियो सुर्खेतका नमराज सापकोटा लगायत ९ जनाको सहभागिता रहेको थियो ।