दिल्ली–चितवन चल्ने यात्रुबहाक बसबाट १ करोडको सामान बरामद

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपरासीको भुमहीबाट दिल्ली–चितवन चल्ने यात्रुबहाक बसबाट १ करोड बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको टोलीले सुनवलको भूमही चोकबाट अबैद्ध रुपमा भन्सार छलेर ल्याएको अवस्थामा ना ८ ख १२०३ नम्बरको बसबाट उक्त सामान बरामद गरेको जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभएको छ । रुपन्देहीको सुनौली स्थित बेलहिया भन्सार नाकाबाट सहजै भित्रिएको बसलाई सुराकीको आधारमा प्रहरीले भैरहवाबाट पछ्याउँदै आएको थियो । भैरहवाबाट परासीहुँदै चितवन जानुपर्ने बस बुटवल पुगेको थियो । ३१ जना नेपाली यात्रु लिएर आएको बसमा भूमही आइपुग्दासम्म ११ जना यात्रु थिए ।

यात्रु ओराल्न बस बुटवल पुगेको बताइएको छ । बसको छतमा लामो टिनको फल्ट बटम बनाएर उक्त सामान लुकाइएको थियो । बरामद भएका सामानमध्ये ८ कार्टुनमा ५० बढी मोबाईल छन् । एउटा मोबाईलको मूल्य करिब ३० हजारदेखि १ लाखसम्म पर्ने रहेका छन् । त्यसैगरी १८ बोरा ट्रयासुट र ८ कार्टुन औषधि छन् । बरामद भएको औषधिमा महंगा आयुर्वेदीक औषधि रहेको प्रहरीले जनाएको छ । बरामद भएको सामान र बसलाई चालकसहित आवश्यक अनुसन्धानका लागि बेलहिया भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।