मेसीको कीर्तिमानी ह्याट्रिक, रोनाल्डोको रेकर्ड तोडे

प्रकाशित मिति:

एजेन्सी – लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतले बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा रियल मार्लोकालाई ५–२ ले हरायो र उपाधि होडमा कायम रह्यो । गत हप्ता मात्र कीर्तिमान छैटौं बेलन डे अर जितेका अर्जेन्टिनी खेलाडीको यो ३५ औं तीन गोलको उपलब्धि हो र यसक्रममा उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ३४ औं ला लिगा ह्याट्रिकलाई उछिनेका छन् ।

खेलमा अग्रता बार्सिलोनाले सातौ मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट लिएको थियो । भर्खरै बालेन डी ओर जितेका मेस्सीले १७ औ मिनेटमा बार्साको अग्रता दोब्बर बनाए । मलोर्काका बुदिमिर ३५ औ मिनेटमा पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर मेस्सीले ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए । त्यसको दुई मिनेटपछि लुईस स्वारेजले बार्सिलोनाका लागि चौथो गोल गरे ।

बुदिमिरले ६४ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनसंगको अंक दुरी घटाउने प्रयास गरेका थिए । तर ८३ औ मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई शानदार जित दिलाए । बार्सिलोना १५ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोनाले रियल मड्रिडलाई उछिनेको छ । मलोर्का १४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।