बलात्कार आरोपमा फेरि अर्का डाक्टर पक्राउ

प्रकाशित मिति:

काठमाडौं – रौतहटमा एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ वर्षीय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । सिंहले चरम यातना दिएर बलात्कार गरेको पीडितको आरोप छ । प्रहरीका अनुसार गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनका लागि गौर बसपार्कमा बसको प्रतिक्षामा थिइन्।

त्यहीबेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगेर बलात्कार गरेको पीडित महिलाले बयान दिएकी छिन् । चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकल पछाडी बसाएका महिलालाई डाक्टर सिँहले सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलात्कार गरेको पीडित महिलालाई उदृत गर्दै प्रहरीले जनाएको छ । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ। उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिराखेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए।

पीडितको जाहेरीपछि सिंहलाई सदरमुकाम गौरबाट नियन्त्रणमा लिएर जवरजस्ती करणी कसुर अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए। प्रहरी हिरासतमा रहेका डाक्टर सिंह सरुअठा हेल्थपोस्टमा अहेव पदमा कार्यरत भएपनि उनी भारतको दरभंगाबाट विडिएस (डेन्टीस्ट) पढेर सदरमुकाम गौरमा दातको निजि क्लीनिक पनि सञ्चालन गर्दै आएका छन् । यसअघि मंसिर ९ गते मेडिसिटी अस्पतालमा कार्यरत डाक्टर रोहित कुमार झा बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेका थिए । नियमित स्वास्थ्य उपचारका लागि अस्पताल पुगेकी युवतीलाई यौन दुव्र्यबहार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । -नेपालसमय