नेकपा सचिवालय बैठक सोमबार बस्ने

प्रकाशित मिति:

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । पार्टी मुख्यालय घुम्बाराहीमा बस्ने गरी सोमबार भोली बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाउने तयारी भएको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले खबरहबलाई जानकारी दिए । यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समेत बैठकमा सहभागी हुनसक्ने संकेत मिलेपछि बालुवाटारमा सचिवालय बैठक बस्ने भनिएको थियो । तर, प्रधानमन्त्रीले स्वास्थ्यका कारण बैठकमा पूर्ण समय दिन नसक्ने भएपछि बैठक धुम्बाराहीमै बस्ने गरी बोलाउने तयारी भएको हो ।

सचिवालय बैठक अघि प्रचण्डले बैठकका एजेण्डाबारे प्रधानमन्त्री ओलीसँग आइतबार दिउँसो नै छलफल गर्ने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा बोल्दै सचिवालय बैठक अघि प्रधानमन्त्री ओलीसँग महत्वपूर्ण विषयमा छलफल गर्न लागेको बताएका थिए । पार्टी सचिवालय बैठकको निर्णयानुसार ‘कार्यकारी’ अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले यसअघि बुधबार पनि सचिवालय बैठक बोलाएका थिए । बुधबारको वैठकमा हालै सम्पन्न उपनिर्वाचनको परिणाम, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लगायत विषयमा छलफल भएको थियो । बुधबार बसेको सचिवालय बैठक पछि उपनिर्वाचनको पूर्ण समीक्षा गरेर प्रतिवेदन पठाउन भन्दै उपनिर्वाचन सम्पन्न भएका जिल्ला, प्रदेश र स्थानीय तहका कमिटीलाई निर्देशन दिइएको थियो ।