प्रचण्ड र नेपालबीच खुमलटारमा गोप्य छलफल

प्रकाशित मिति:

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आइतबार बिहानै नेताहरूबीच छलफल भएको छ। आज बिहानै छलफलका लागि नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका थिए। दुवै नेताबीच गोप्य छलफल भएको जनाइएको छ।प्रचण्ड र नेपालबीच करिब एक घण्टा छलफल भएको जनाइएको छ। दुवै नेताबीच छलफल हुँदा अन्य नेतालाई सहभागी नगराइएको पनि जनाइएको छ।प्रचण्ड र नेपालबीच छलफल हुँदा अन्य नेता पर्खेर बसेको नेकपा स्रोतले जनाएको छ। दुई नेताबीच भएको छलफलबारे भने केही खुलाइएको छैन।अध्यक्ष प्रचण्डले सोमबार नेकपा सचिवालय बैठक बोलाएका छन्। त्यसबारे छलफल गर्न नेकपा महासचिव बिष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेललगायत नेताहरु खुमलटार पुगेका थिए।

त्यस्तै, प्रचण्ड निकट नेताहरु पनि छलफलका लागि बिहानै खुमलटार पुगेका थिए। उनीहरुसँग सचिवालय बैठकका एजेन्डाबारे सामान्य छलफल भएको जनाइएको छ।त्यस्तै, एकता प्रक्रिया छिटो टुङ्गयाउने, स्थायी कमिटी बैठक बोलाउने विषयमा पनि छलफल भएको जनाइएको छ। नेकपा स्थायी कमिटी बैठक एक वर्षदेखि बस्न सकेको छैन।अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले सक्रियता देखाउन थालेका हुन्।