ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया

प्रकाशित मिति:

रमेश विश्वकर्मा/गुल्मी – ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । दुर्घटना न्यूनिकरणको लागि विभिन्न निर्णयहरु समेत गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सहयोगमा गाउँ, समुदाय र विद्यालय स्तरमा ट्राफिक चेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरिएको हो। ट्राफिक नियमको पूर्ण पालना गर्दै छत्रमा यात्रु नराख्ने, सवारी चलाएको समयमा मोबाइल फोनको प्रयोग नगर्ने, ट्रक लगायतका ढुवानीका सवारीमा यात्रु नराख्ने, सवारीलाई आवश्यक मर्मत गरेर मात्र चलाउने निर्णय गरिएको छ ।

रुट परमिट नलिएका कुनैपनि प्रकारका सवारी साधनहरुको संचालनमा पूर्ण रोक तथा घुम्ति बाटोहरुमा सवारी साधन पार्कीन नगराउने, जिल्लाका सडकहरुमा राखिएका जथाभावी निर्माण सामग्री र छाडा चौपायाहरुलाई नियन्त्रण गर्ने लगायतका निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख लक्षमण पराजुलीले सानो–सानो लाहावरबाहिले पनि दुर्घटना हुने गरेको भन्दै चालक र व्यवसायीलाई तालिम आवश्यक रहेको बताए । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लिराज भुसालले दुर्घटना न्यूनिकरणमो आ–आफ्नो ठाउँबाट सबैले प्रयास गर्नुपर्ने धारणा राखे ।

पैसाले किनेको सवारी चालक अनुमति पत्रले कहिल्यै पनि राम्रो नगर्ने भन्दै उनले चालक र यातायात व्यवसायीले अनुशासनपूर्वक काम गर्नुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले सवारी चालकहरुलाई अनिवार्य रुपमा पोशाकको व्यवस्था गर्नुपर्ने बताए । नेकपाका पार्टी सचिव वीरबहादुर कार्कीले ट्राफिक प्रहरीको चेक जाँच औपचारिकतामा मात्रै सिमित हुन नहुने सुझाव दिए । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले सवारी दुर्घटनाले धेरैको मन दुखी पारेको र दुर्घटना बढ्दो हु्ँदै आएकोले न्युनिकरणका लागि समुदायको सहभागिता आबश्यक रहेको बताए ।

कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले दुर्घटना न्युनिकरणमा प्रहरीको मात्र मुख नताकी सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिए । अन्तरक्रिया कार्यक्रममा सुरक्षित स्थान र सुरक्षित तरिकाले मात्र ओभरटेक गरौं, ट्राफिक प्रहरीको चाहना सुरक्षित यात्राको कामना, नागरिक विना बर्दिका प्रहरी हुन, तिब्र गति जीवन क्षती सानो त्रुटि अधिक क्षति, बाल बालिका वृद्ध र अपांगको सधै सम्मानका साथ यात्रा गराऔं, सडकमा हिड्दा सधै दायाँ किनारको प्रयोग गरौं भन्ने प्रचार पम्प्लेट पनि टासिंएको थियो । कार्यक्रममा जनप्रतिनिधि, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकरी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित यातायात कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्लामा कृयाशिल पत्रकार, व्यवसायी लगायतका सरोकारवालाहरुले दुर्घटना न्यूनिकरणमा प्रतिवद्धता जनाएका हुन् ।