कोहलपुरमा कर्फ्यू हटाइयो, विद्यालय र बजार ठप्प

प्रकाशित मिति:

बाँके – बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा(कर्फ्यू) हटाएको छ । विद्यार्थीको प्रदर्शनका कारण हिजो कोहलपुर अशान्त बनेपछि प्रशासनले अपरान्ह तीन बजेबाट बजार क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो । यता, प्याव्सन र एनप्याव्सनले हिजोको घटनाको बिरोध गर्दै आज(सोमबार) जिल्लाभरका विद्यालय बन्द गराएका छन् । बन्दका कारण विद्यालय र बजार ठप्प छन् । सवारी साधन भने निवार्ध रुपमा सञ्चालन भइरहेका छन् । हिजो(आइतबार) बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा प्रगति चन्द गम्भीर घाइते भएपछि कोहलपुर तनावग्रस्त बनेको थियो ।

त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगतिको दुवै खुट्टा काटिएको छ । उनलाई थप उपचार लागि हिजै काठमाडौं ल्याइएको छ । प्रगतिलाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ट्रकमा आगो लगाउनुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका थिए । उनलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अहिले कोहलपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बालिकालाई ठककर दिने ट्रक चालक भने प्रहरी नियन्त्रणमा छन् ।