छोरी जन्माई भनेर हेपिएकी मेरी आमाका लागि यो स्वर्ण

प्रकाशित मिति:

जनकपुर । १३औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगिताअन्तर्गत ५५ केजी तौल समूहमा स्वर्ण जितेपछि जब संगीता धामी रुन थालिन सबैको अनुहार मलिन भयो। गुरुले सम्झाईरहे पनि धेरैवेर उनका आँसु रोकिएनन्। जब पत्रकारले उनको आमाबुवाको नाम सोध्न खोजे, त्यसपछि उनले दिएको प्रतिक्रियाले सबै चकित परे। उनले भने, ‘बुवाको नाम नलिनुस्, यो स्वर्ण आमाका लागि हो।’उनको यो आक्रोसभित्रै गहिरो पीडा छ। कञ्चनपुरको महेन्द्रनगरकी संगीताका बुवाले सानैमा छोडेका थिए। चार छोरी जन्मिएपछि उनका बुवा नन्दसिंह धामीले छोरा नजन्माएको भन्दै उनकी आमा धाना धामीलाई छोडे।‘बुबाले अल्छिनी भनेर तिरस्कार गर्नुभयो। घरबाट निकाल्नु भयो,’ संगीताले स्वर्ण जितेपछि विगत कोट्याइन्, ‘बुवाले अर्को बिहे गर्नुभयो। हामी चार दिदीबहिनीलाई लिएर आमा घरबाट निस्कनुभयो।’त्यसपछि उनका ठूलाबुवाले आफ्नो जग्गामा झोपडी बनाइदिए। त्यसमै धाना र उनका चार छोरी बस्न थाले।

छिमेकी र चिनजानकासँग ऋण निकालेर उनले भैंसी किनिन्। त्यसकै दूध बेचेर छोरीहरुको पठनपाठन गर्न थालिन्। ‘आमाले मजदुरी गर्नुभयो। दूध बेचेर जोहो गर्नुभयो,’ संगीताले भनिन्, ‘दुःखकष्ट गरेर स्कुल पढाउनु भयो।’स्कुल पढ्दै गर्दा संगीतालाई कुस्तीमा रुचि थियो। कुस्ती मोह देखेपछि उनकी आमा धानाले संगीतालाई प्रशिक्षक राजेन्द्र चन्दकहाँ पठाइन्। ‘त्यसपछि त कुस्तीमै केन्द्रीत भए,’ अहिले स्नातक अध्ययनरत संगीताले भनिन्। त्यसमा उनका दिदीले हौस्याइरहेँ।शनिबार ५५ केजी तौल समूहमा भिड्दा संगीताले त्यही पीडा सम्झिन्। बंगलादेशकी रिमे सर्केरलाई पराजित गर्दे नेपालका लागि स्वर्ण पदक जितिन्। ‘यो स्वर्ण पदक मेरी आमाका लागि हो,’ संगीताले थपिन्, ‘छोरी जन्माई भनेर हेपिएकी मेरी आमाका लागि हो, यो स्वर्ण। जसले एक्लै दुःख, पीडा खेपेर हामीलाई यहाँसम्म पुर्‍याउनु भयो।’ उनी यति बोलिरहँदा पनि हिकहिकाइरहेकी थिइन्।काठमाडौप्रेस वाट साभार