दलित पत्रकार संघ नेपालको सुर्खेत शाखा गठन, अध्यक्षमा जगतदल

प्रकाशित मिति:

सबलपोस्ट/सुर्खेत – राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुर्खेत शाखा गठन गरिएको छ । दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्माको उपस्थितिमा सोमबार वीरेन्द्रनगरमा दलित पत्रकारहरुको जिल्ला भेला गरि जगतदल जनाला विकको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । संघको उपाध्यक्षमा संजीव बराल, सचिवमा गोविन्द विश्वकर्मा , सह–सचिवमा निरु विश्वकर्मा , कोषाध्यक्षमा यमुना परियार, सदस्यमा गणेश विक, तिलकराज विक, भिम परियार , चित्र सुनार चयन भएका छन । यस्तै सल्लाहकार समितिमा ललित बसेल र खगेन्द्र सुनारलाई चयन गरिएको छ ।

राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व कम भएको नागरिक दैनिकका पत्रकार गणेश विकले बताए । संघको गठनले जिल्लामा दलित समुदायहरुको हकअधिकार सञ्चार माध्यम मार्फत गाउँ टोल–टोलमा पुर्याउन मद्दत पुग्ने आदीवासी तथा जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेश इञ्चार्ज अशोक राजीले बताए । दलित अधिकार र न्यायका क्षेत्रमा संघले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । नेपाल पत्रकार महासंघका सुर्खेत शाखा अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारिताको मूल्य र मान्यता अनुसार यो क्षेत्रलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।

संख्यामा दलित पत्रकारहरु कम भएपनि संगठित हुँदै गुणात्मक रुपमा अगाडि बढ्नुपर्ने पत्रकार महासंघ कर्णाली प्रदेश समिति महासचिव दीपेन्द्र शर्माले बताए । उनले प्रदेश तथा स्थानीय तहमा दलित मैत्री कानुन बनाउन यो संघको महत्वपूर्ण भुमिका रहने बताए । नयाँ संरचना र परिवेशमा हक अधिकार तथा संरक्षणका क्षेत्रमा धेरै काम गर्नका लागि पत्रकारहरुले संगठित भई एकतावद्ध हुन जरुरी भएको पत्रकार महांसघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले बताए । दलित पत्रकारहरुलाई पेसामा टिकाइ राख्न र पत्रकारितामा थप आयाम सिर्जना गर्न यस्ता संगठन आवश्यक रहेको सेजुवालले बताए ।

यस्तै कर्णाली प्रदेश सभा सदस्य तथा संसदीय विकास समिति अध्यक्ष माननीय राजु नेपालीले २४ प्रतिशत दलितले ओगटेको कर्णालीमा खास दलितका मुद्धाहरु बाहिर आउन नसकेको बताइन् । प्रदेश स्तरमा दलित मैत्री कानुन बनाउनका लागि दलित पत्रकार संगठनले पनि थप सल्लाह सुझाव दिनुपर्ने भन्दै उनले आफु त्यही वर्गको माननीयका हैसियतले दलितमैत्री कानुन निर्माण गर्ने प्रतिवद्धता जनाइन् । प्रदेशमा ५ जना दलित समुदायका सांसदलाई जुनसुकै बेला पनि सल्लाह सुझाव दिन दलित पत्रकार संघ तयार हुनुपर्ने बताइन् । कार्यक्रमका सभा अध्यक्ष तथा दलित पत्रकार संघका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्माले दलित पत्रकार संघले, नेपाल पत्रकार महांसघमा पनि दलित पत्रकारहरु समावेश हुनमा सहयोग पुग्ने बताए । उनले यो संघलाई जिल्ला देखि प्रदेश स्तरसम्म बिस्तार गरिने जानकारी दिए ।