दुर्घट्ना बढेपछि स्याङ्जा ट्राफिकको चासो

प्रकाशित मिति:

स्याङ्जा—पछिल्लो समय देशका विभिन्न भागमा दैनिक सवारी दुर्घट्ना हुन थालेपछि स्याङ्जा ट्राफिक प्रहरीले पनि चासो देखाउन थालेको छ । जिल्लामा पछिल्लो समय दुर्घट्नामा न्युनिकरण भएपनि विभिन्न जिल्लामा भएको दुर्घट्नाले सचेत बनेको जिल्ला ट्राफिक प्रहरीले सचेतना फैलाउन लागेको हो । सवारी दुर्घटनाले ठुलो जनधनको क्षति भएसगै जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले दुर्घटनामा कमी गराउने उदेश्यले ट्राफिकले सवारी चालक, सह चालक, यात्रु, सर्वसाधारका बिच सचेतना कार्यक्रम शुरु गरेको छ । जिल्ला सदरमुकाम पुतलीबजार, वालिङ र गल्याङ क्षेत्रबाट ग्रामिण भेगमा जाने सवारी साधनका चालक, सहचालक, सवारी धनी, यात्रु लगायतलाई भेला गराएर सचेतना गर्दै आएको जिल्ला ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले बताए ।

सवारी ऐनको अबज्ञा गर्दै सवारी साधन चलाउनेलाई यात्रु आफैले पनि खबरदारी गर्नुपर्ने ट्राफिक प्रहरीको अनुरोध छ । बिगत देखिनै दुर्घटना न्युनिकरणमा आफुहरुले चाँसो देखाएको बताउदै जिल्ला ट्राफिक प्रहरी रानाभाटले देशभरको दुर्घनालाई हेर्दा स्याङ्जामा सामान्य जस्तै रहेको बताए । सवारी चालकको साधन चलाउने अनुमति पत्र, सवारी साधनको कागजात आवश्यक रहने बताउदै रानाभाटले क्षमता भन्दा बढी यात्रु चढाउनेलाई कारबाहीको दायरमा ल्याउने बताए । सचेतना कार्यक्रममा ट्राफिकको कार्यक्रम प्रभाबकारी रहेको बताउदै ग्रामिण भेगमा समेत कार्यक्रम लग्नुपर्ने सवारी चालकहरुले बताएका छन् । दुर्घटना न्युनिकरणमा सबैको चासो खाँचो रहेको भन्दै गाउँ गाउँमा सवारी जाचँ समेत हुनुपर्ने चालकहरुले ट्राफिक प्रहरीलाई सुझाए । बढ्दो सवारी चाप र बिग्रदो सडक पनि दुर्घट्नाको कारक बनेकोले दुवै बिषयमा चालक सचेत रहनुपर्ने ट्राफिक प्रहरीको आग्रह छ । अहिले सम्म ट्राफिक प्रहरीले ४ सय भन्दा बढीलाई ट्राफिक सचेतना गराएको ट्राफिक हवलदार शंकर रिमालले जानकारी दिए । यो क्रमलाई निरन्तरता दिइरहने उनको भनाई छ । जिल्लामा सवारी दुर्घट्ना गएका बर्षहरुमा भन्दा केही न्युनिकरण हुदै आएको छ । ट्राफिक प्रहरीको सक्रियता बढे सगै जिल्लामा दुर्घट्नामा कमी आएपनि विभिन्न जिल्लामा भएका सवारी दुर्घट्नाले स्याङ्जा ट्राफिकलाई चुनौती भने थपिएको छ ।