हिंसामुक्त समाज निर्माणमा सबैको भुमिका महत्वपुर्ण हुने

प्रकाशित मिति:

झबिन्द्र देवकोटा बुटवल/ लैङ्गिक हिंसा कम गर्न ब्यक्ति परिवार तथा समाज सबैको भुमिका महत्वपुर्ण हुने सरोकारवालाले बताएका छन् । महिला, पुरुष, बालिबालिका तथा तेस्रोलिङ्गि जोकोही पनि हिंसामा पर्ने भएकाले लैंगिक समानताका लागि सबैको पहँल र भुमिका उत्तिकै महत्वपुर्ण रहनु पर्नेमा उनीहरुको जोड थियो । असी प्रतिशत मानिस हिंसामा पर्ने गरेको, हिंसाकै कारण डिप्रेशनको शिकार र डिप्रेशनले मानिसलाई आत्महत्यासम्म गर्न बाध्य बनाएकाले हिंसामुक्त समाज निर्माणमा सबैको भुमिका महत्वपुर्ण हुनु पर्ने सुझाव उनीहरुले दिएका थिए ।लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर युएनडिपी र युएनएफपिएको सहयोग तथा सिद्धार्थ सामुदायिक विकास केन्द्र तथा शशक्तिकरण नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागि भएका अधिकारकर्मीहरुले लैंगिक समानताका लागि घरैबाट हिंसामुक्त अभियानको सुरुवात गर्नु पर्ने बताएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश पाँचका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले लैंगिक हिंसा समाजरुपान्तरणको बाधक भएकाले यसको विरुद्धमा सबैको सहभागिता अतिनै आवश्यक रहेको बताउनुभयो । उहाँले लैंगिक हिंसाले महिला, पुरुष, बालबालिका तथा तेस्रोलिङ्गी कसैलाई पनि हित नगर्ने भएकाले समाजिक रुपान्तरण र समृद्ध मुलुकका लागि सबैविचमा लैंगिक समानता हुनु उतिनै आवश्यक रहेको बताउनुभयो ।सिद्धार्थ सामुदायिक विकास केन्द्र कपिलबस्तुका अध्यक्ष पोम नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु थानकुमारी थापा, रमा पौडेल, कमला विश्वकर्मा, गिता थापा, सामाजिक विकास महाशाखा प्रदेश ५ प्रमुख शारदा बस्याल, बुटवल उपमहानगरपालिकाका उपमेयर गुमादेवी आचार्य, मानअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनाल, युएनएफपिएका प्रदेश संयोजक राम थापा, युएनडिपीका प्रदेश संयोजक सुदिप अर्याल, शशक्तिकरण नेपालका अध्यक्ष आनिक राना, रेशम न्यौपाने महिला अधिकारकर्मी राधा भट्टराई, संचारकर्मी अमृता अनमोल लगायतले लैंैगिक समानताका लागि महिला हिंसाका कुरामात्र होईन, पुरुष, बालबालिका तथा यौनिक तथा अल्पसंख्यकका विषयलाई पनि उत्तिकै उठाउनु पर्नेमा जोड दिनु भएको थियो । सोही कार्यक्रमको अवसर पारेर तेस्रोलिङ्गी महिलाको अधिकारका बिषयमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै आयोजक संस्थाले तेस्रोलिङ्गी महिला आनिक राना मगरलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।