प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान

प्रकाशित मिति:

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे।

प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्रीगण, नेकपाका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अङ्गका प्रमुखलगायत विमानस्थल पुगेका थिए। सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

संयुक्त राष्ट्र सङ्घको महासभालाई प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुने ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’लाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली तथा श्रीमती राधिका शाक्य सहभागी हुनेछन्।

प्रधानमन्त्रीको भ्रमण दलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पराष्ट्रसचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बर्सेट र क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग भेटवार्ता गर्नेछन् प्रधानमन्त्री ओली असोज १३ गते न्यूयोर्कबाट कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सानहोजेतर्फ प्रस्थान गर्नेछन्। कोस्टारिकाको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली यही असोज १८ गते स्वदेश फर्किनेछन् ।