कतारले तोक्यो न्यूनतम पारिश्रमिक, आगामी जनवरीदेखि नेपाली श्रमिकले कति पाउँछन् ?

प्रकाशित मिति:

काठमाडौं – कतारले आफ्नो देशमा काम गर्न आउने कामदारको न्यूनतम पारिश्रमिकको दर तोकेको छ । साथै काफला पद्धती हटाइएको निर्णय पनि गरेको छ । सबै देशका कामदारलाई समान रुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन बुधबार पारित गरिएको हो । यो कानुन आउँदो जनवरीदेखि कार्यान्वयन गरिने जनाइएको छ । कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने भएकाले यो कार्यान्वयनमा आउने छ । मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने कतारका प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले जानकारी दिएका छन् ।

र यो पनि पढ्नुहोस् : कतारको विकासमा नेपालीको पसिना निकै धेरै परेको छ, नेपाल प्रति बढी नै आभारी छौँ : युसुफ विन महोम्मद
निकै लामो अन्तर्राष्ट्रिय दबाबपछि नै भए पनि खाडीमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने देश कतार पहिलो हो । अब रोजगारदाता कम्पनीहरुले न्युनतम ७ सय ५० रियाल दिनै पर्ने व्यवस्था नयाँ कानुनले गरेको छ । यो त्यहाँका रोजगारदाताहरुका लागि बाध्यकारी हुनेछ ।

बैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका एक नेपाली युवक । कामका लागि अत्यधिक नेपाली जाने देश मध्येको देश कतारका लागि नेपाल सरकारले भने अदक्ष कामदारलाई न्युनतम तलब ९ सय रियाल दिनैपर्ने भन्दै निर्धारण गरेको थियो । तर कतार सरकारले रोजगारदाताहरुले न्युनतम ७ सय ५० रियाल मात्र दिनैपर्ने गरी कानुन बनाएको हो । कतार सरकारको निर्णयको स्वागत गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनले यस कदमले कामदारको अधिकार सुनिश्चित गर्न सहयोग मिल्ने जनाएको छ । कतारमा नेपालका करिब चार लाख व्यक्ति विभिन्न ओहोदामा काम गर्दछन् ।