१० जनाको व्यक्तिगत लगानीमा पक्की पुल !

प्रकाशित मिति:

दमौली – दमौलीका दशजना व्यवसायीहरुको निजी लगानीमा पक्की पुल निर्माण भएको छ । दमौलीका व्यवसायीहरु काशीराम श्रेष्ठ, बुद्धीराज मिश्र, तिलबहादुर थापा, निरबहादुर ठकुरी, दिलबहादुर दरै, यमबहादुर दरै, किनकुमार श्रेष्ठ, सकिद दरै, सुर्यबहादुर मल्ल र प्रकाश मल्लले व्यक्तिगत एक करोड ३० लाख रुपैयाँ लगानी गरेर व्यास नगरपालिकाको वडा नम्बर १ को अम्रेनी (पृथ्वीराजमार्गसगै) र वडा नम्बर ११ जोड्ने बुल्दी खोलामा पक्की मोटर चल्ने पक्की पुल निर्माण गुर्न भएको हो ।

१५ मिटर लम्बाई र ६ मिटर चौडाईको उक्त पुल व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको छ । पुल उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले व्यवसायीहरु नाफा कमाउन मात्र हैन सामाजिक उत्तरदायत्विको काममा समेत सक्रिय भएको बताउनु भयो । उहाँले राज्यले गर्नु पर्ने विकासको काममा युवाहरुको सक्रियताले नगरपालिका निकै खुसी भएको बताउनुभयो । सो अवसरमा पुल निर्माणकर्ता व्यवसायी एवं व्यास नपा वडा नम्बर २ का अध्यक्ष काशीराम श्रेष्ठले विकासको काममा राज्यलाई सहयोग गर्ने उद्देश्यले पुल निर्माण गरेको बताउनु भयो । दुई वडाका जनता पुलको अभावमा निकै दुःख पाएको देखेपछि आफुहरु १० भाई मिलेर पुल निर्माणमा रकम लगानी गरेको उहाँले बताउनुभयो ।

अर्का व्यवसायी दिलबहादुर दरैले व्यवसायसँगै समाजसेव पनि गर्ने उद्देश्यले १० जना मिलेर १३ /१३ लाख रुपैयाँ संकलन गरि पक्की पुल निर्माण गरिएको बताउनुभयो । उहाँले उक्त पुलबाट अव स्थानीय जनताहरु निकै लाभान्वित हुने बताउनुभयो । व्यास नपा वडा नम्बर १ का अध्यक्ष खरसिंह दरैले उक्त पुल निर्माण पछि दुई वडाका जनता लाभान्वित हुने बताउनुभयो । सबै व्यवसायीले आफ्नो नाफाको केही अंश यसरी समाजसेवामा लगाउने हो भने राज्यलाई पनि फाईदा पुग्ने उहाँले बताउनुभयो । १० जना व्यववसायीको व्यक्तिगत लगानीमा निर्माण गरिएको कारणले उक्त पुलको नाम पनि दश भाई पुल राखिएको छ ।