काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगितामा चार स्वर्ण पदक जितेकी अबको लक्ष्य ओलम्पिक भएको बताएकी छन्।उनले सोमबार पौडीमा नेपालका लागि चौथो स्वर्ण जितेकी थिइन्। उनले २० मिलिसेकेन्ड ०।०२ सेकेन्डले भारतीय खेलाडीलाई उछिन्दै चौथो स्वर्ण जितेकी हुन्।गौरिकाले एक सय मिटर फ्रिस्टाइल ५८।१३ सेकेन्डमा पूरा गरेकी थिइन भने भारतकी सिभाङ्गी शर्माले ५८।१५ सेकेन्डमा पूरा गरेकी थिइन्।उनी एउटै सागमा धेरै स्वर्ण जित्ने खेलाडी बनेकी छन्। उनले दुई रजत र तीन कास्य पदक पनि जितेकी छन्। उनले १२औं सागमा एक रजत र तीन कास्य पदक जितेकी थिइन्। कीर्तिमानी खेलाडी गौरिका सिंहसँग काठमाडौंप्रेसले गरेको संक्षिप्त कुराकानी उनकै शब्दमा स्यसमा गोल्ड आउँछ वा आउँदैन थाहा थिएनँ। यो मेरो मेन इभेन्ट पनि थिएनँ। यो एकदम इम्प्रेसिभ लाग्यो। मैले स्वर्ण जिते।आजजस्तो सानो मार्जिनमा कहिले पनि जितेको थिइनँ। यो प्रतिष्पर्धानै अहिलेसम्मको टफ प्रतिष्पर्धा हो। मलाई स्कोर हेर्ननै डर लागेको थियो। मैले जितेको होकी उसले जितेको हो भन्ने अन्यौलमा थिएँ।मलाई हौसला बढाउनका लागि अनुराधा दिदी आउनु भएको थियो। उहाँले देखाएको साथले झनै हौसला मिलेको छ। मेरो रिले टिमसँग पनि राम्रो समन्वय भयो। जसले फाइदा भयो।म यो सफलता मेरो परिवार, बुबा, आमा, हजुरबुबालाई समर्पण गर्न चाहान्छु। उहाँहरूले मलाई बिहानै स्विमिङ लग्नुहुन्थ्यो, अनि स्कुल पुर्याउनु हुन्थ्यो।
भोलि मेरो हजुरबुबाको जन्मदिन छ। म उहाँलाई पनि यी मेडलहरु डेलिकेट गर्न चाहान्छु।मेरो कोचले खेल अघि हरेक दिन टेक्स पनि गर्नुहुन्थ्यो। अनि फोन पनि गर्न हुन्थ्यो। कोचसँगको समन्वय निकै राम्रो रह्यो।मैले यो उपलब्धिका लागि धेरै प्रयास गरेको छु। यो वर्ष नयाँ प्रशिक्षक पनि राखेर अघि बढेको छु। जसले मलाई ठूलो सहयोग मिलेको छ। यो प्रतियोगिताकै लागि धेरै खानेकुराहरु छोडेको छु।अब खेल सकिएसँगै धेरै खानेकुरा खाने छु। मलाई आलु तारेको एकदम मन पर्छ। त्यो नै खान नपाएको एक महिना भयो। अब चाहिँ तारेको आलुमात्रै खान्छु।यो सागमा चार स्वर्ण जितेपछि आत्मविश्वास बढेको छ। अब धेरैभन्दा धेरै रेकर्ड बनाउने सोचेको छु। अनि मेरो रेकर्ड अरुले तोड्दै अघि बढेको हेर्न मन छ।अब पहिलो लक्ष्य ओलम्पिक नै हो। त्यसको तयारीमा लाग्छु। राम्रोसँग तयारी गर्छु। अबको मेरो लक्ष्य नेपालका लागि ओलम्पिक पदक जित्नु हो।