अमेरिका, मेक्सिको र क्यानडाले विस्थापित गरे २५ वर्ष पुरानो व्यापार सम्झौता

प्रकाशित मिति:

एजेन्सी– अमेरिका, मेक्सिको र क्यानडाले दुई वर्षको वार्तापछि संशोधित यूएसएमसीए भनिने व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।यो सम्झौताले २५ वर्ष पुरानो नाफ्टा भनिने उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई विस्थापित गर्नेछ । मेक्सिको सिटीमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै मेक्सिकोका राष्ट्रपति आन्द्रेज म्यानुएल लोपेज अब्राडोरले नयाँ सम्झौता तीनवटै देशका कामदारहरूका लागि उचित भएको र त्यसले आप्रवासनको समस्या हल गर्ने बताएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार नाफ्टाको साटो नयाँ व्यापार सम्झौताको विषय अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ को निर्वाचनका बेला एउटा प्रमुख एजेन्डा थियो । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले तीन देशबीचको सहकार्य एउटा चमत्कार भएको बताए । देशभित्रै पनि राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटहरूसँग उक्त नयाँ सम्झौताका विशेषत: पर्यावरण र श्रमिकसम्बन्धी प्रावधानबारे सहमति गरेको देखिन्छ । अब उक्त सम्झौता अमेरिकी संसद्का दुवै सदनमा अनुमोदनका निम्ति प्रस्तुत गरिनेछ । अमेरिकामा नयाँ सम्झौतामा ह्वाइट हाउसले श्रमिक तथा वातावरणसम्बन्धी प्रावधान परिवर्तन गर्न सहमति जनाएपछि विपक्षी डेमोक्र्याटहरूले पनि त्यसको समर्थन गरेका थिए । उक्त समर्थन प्राप्त भएको केही घण्टामै हस्ताक्षर सम्पन्न भएको थियो ।