मोबाइलबाटै गर्भवतीको स्याहार

प्रकाशित मिति:

स्याङ्जा – स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीयता बढाउने अभियानमा लागेको फेदीखोला गाउँपालिकाले गर्भवतीलाई लक्षित मेडिक मोबाइल प्रविधि सुरु गरेको छ । एक बर्षबाट घर घरमै पुगेर बृद्धबृद्धाको स्वास्थ्य स्याहार गरेको फेदिखोलाले पालिका भित्र रहेका स्वयंसेविका मार्फत गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम लागु गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको मोवाइलमा प्रत्येक गर्भवतीको अवस्थाको बारे चार, छ, आठ र नौ महिनामा म्यासेज आउने बताउदै सुबेदीले …. को प्रसुती हुने अनुमानित मिति आयो, नमस्ते …. पहिलो गर्भ जाँचको लागि स्वास्थ्य सँस्था जान सम्झाउनु होला, …लाई भेटेकोमा धन्यवाद, यस्ता प्रकृतिका म्यासेजको आधारमा महिलाको महिनाबारी रोकिएदेखि प्रसुती चेकजाँच, शिशुको स्वास्थ्य खतराजन्य अवस्थाबारे स्वयंसेविकासगँ म्यासेज पुग्ने बताउनुभयो ।

नियमित रुपमा स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको प्रविधिमा एक पटक गर्भवतीको नाम दर्ता भइसके पछि स्वास्थ्य संस्था नगए तुरुन्त स्वयंसेविकाको मेडिक मोबाइलमा म्यासेज आउने सुबेदीले बताउनुभयो । दुई पटक म्यासेज पठाउँदा पनि महिला स्वास्थ्य संस्थामा जाँच गर्न नगए तेस्रो म्यासेज सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई जाने बताउदै सुबेदीले गर्भवती भएर पनि स्वास्थ्य संस्थामा नजाने महिलाहरुलाई फलोअप गर्न स्वयंसेविकालाइ पनि सहज हुने बताउनुभयो । प्रविधि मार्फत महिलाहरु नियमित रुपमा स्वास्थ्य जाँचको लागि स्वास्थ्य संस्थामा जाने, आइरन चक्की खाने, चेक जाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेख्य सुधार ल्याउने स्वास्थ्य शाखाको लक्ष्य रहेको छ ।

गाउँपालिकाले ३६ जना स्वयसेविकालाई सिम सहित फिचर फोन र ४ वटा स्वास्थ्य चौकीलाई ४ वटा एन्ड्रोइड फोन प्रदान गरेको सुवेदीले बताउनुभयो । १० लाख बजेटको कार्यक्रम भएको बताउदै सबेदीले मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोवाईल स्वास्थ्य कार्यक्रम प्रभाबकारी हुने बताउनुभयो । स्वयंसेविकाको मोबाइलमा जुन गर्भवती महिलाको म्यासेज आएको हो, सोही महिलालाई म्यासेज अनुसारको खबर स्वयंसेविकाले गर्ने सुवेदीले बताउनुभयो ।

प्रविधिको भरपुर उपयोग गरि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप मेडिक मोवाइल प्रविधिको सुरुवात गरिएको अध्यक्ष सुवेदीको तर्क रहेको थियो । प्रविधिको माध्यमबाट मातृ तथा शिशु मृत्यु दर शुन्य तहमा पुर्याउन सकिने र सुरक्षित मातृत्वको लागि तथ्यांकको व्यवस्थापन र अभिलेखन पनि तथ्यपरक बन्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खिलप्रसाद पौडेलले बताउनुभयो । पाचँ वटा वडा रहेको फेदिखोलामा तिन सय ४८ जना गर्भवती महिलाको तथ्याङ् रहेको बताउदै पौडेलले तथ्याङ् अनुसार मेडिक मोबाईल सेवा दिइने बताउनुभयो ।

गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्म महिला र नवजात शिशुको स्याहार सुसार र स्वास्थ्य जाँचलाई मोबाईलको सहायताबाट गरिने मेडिक स्वास्थ्य कार्यक्रमका परियोजना अधिकृत नारायण रिजालले बताउनुभयो । उहाँले गर्भवती जाँच, शिशुको स्वास्थ्य अवस्था, खतराजन्य अवस्थाको सूचना पालिकाको स्वास्थ्य संस्थाको प्रमुखकोमा पुग्ने भएकोले सोको आधारमा आवस्यक सल्लाह दिन सकिने बताउनुभयो । तत्काल गर्नुपर्ने उपचार तथा स्वास्थ्य जाँचबारे मोबाइलबाटै सन्देश पठाउन मिल्ने र सन्देश सर्भर मार्फत स्वास्थ्य कार्यालय र मेडिक मोबाइलमा पुग्ने छ । अर्जुन काफ्लेले गोरखापत्रमा यो खबर लेखेका छन ।