सैनामैनामा दास्रो चरणको टिफिन वितरण

प्रकाशित मिति:

सैनामैना – सैनामैना नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर सामुदायिक विद्यालयमा विभिन्न कार्यहरु गरिरहेको छ । जस अन्र्तगत नगरले सामुदायिक विद्यालयका बालबालिकाहरुका लागि टिफिन बक्स वितरण सुरु गरेको छ । सैनामैनामा रहेका १८ वटै सामुदायिक विद्यालयहरु ३६०९ वटा टिफिन बक्स वितरण गर्ने लक्ष्य अनुरुप यस अघि नै १४ वटा सामुदायिक विद्यालयका करिब २ हजार ९ सय वटा टिफिन वितरण गरेको थियो भने आज थप ४ वटा सामुदायिक विद्यालयका ७०९ जना बालबालिकाहरुका लागि टिफिन बक्स वितरण गरेको सैनामैनाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले जनाउनु भएको छ । नगर प्रमुख चित्र बहादुर कार्कीले विद्यालयमा खाने गरिएका जङ्कफुड्लाई निरुत्साहित गरी साना वालवालिकाहरुलाई घरमा तयार गरिएको खाजा खानेवानीको विकास गर्न टिफिन वक्स वितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘ घरमा तयार गरिएको खाजा विद्यार्थी भाईबहिनीहरुले विद्यालयमा लिएर आए मात्र जङ्कफुड् निरुत्साहित गर्न सहज हुनेछ ।

विद्यालयमा जङ्कफुड् पुर्ण रुपमा निशेधित गर्न संस्थागत विद्यालयहरुलाई पनि निर्देशनात्मक आग्रह गरिने बताउनुभयो । उहाँले शिशु देखी कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि बक्स वितरण गरिएको बताउँदै अब नियमित रुपमा विद्यालयमा अनुगमन गरिने बताउनुभयो । नगर प्रमुख कार्कीले जङ्कफुड्ले बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको उल्लेख गर्दै यस तर्फ अभिभावक, विद्यार्थी लगायत विद्यालय परिवार समेत सचेत रहन आग्रह गर्नुभयो । कार्कीले विद्यालयमा टिफिन वितरण गर्दा प्रशिक्षणमुलक तरिकाले अभिभावकहरुलाई घरमा तयार गरिएको खाँजा विद्यालयमा पठाउने प्रतिबद्धता जनाउने गरी वितरण गर्न विद्यालयहरुलाई सुझाव समेत दिनुभयो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार नगरले विद्यालयको भौतिक विकासमा समेत जोड दिएको बताउनुभयो । पन्थीले सामुदायिक विद्यालयहरुको गुणस्तरीय शिक्षा कायम गर्नका लागि विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्थापन, छात्राहरुलाइ आवश्यक पर्ने सेनेटरी प्याड लगायतका कार्यहरुलाई छिट्टै व्यवस्थापन गरिने जानकारी गराउनुभयो । सैनामैना माविका प्रध्यानध्यापक नेत्रलाल पुरीले औपचारिकताका लागि मात्र नभई पुर्ण कार्यान्वयका लागि सबैको सहयोग र सहकार्य आवश्यक हुनुपर्नेमा जोड दिनुभयो । साथै नगरले अनुगमनलाई प्रभावकारी ढंगले गर्नुपर्ने बताउनुभयो । नगर कार्यालय बुद्धनगरमा भएको कार्यक्रममा नगर शिक्षा समिती सदस्यहरु, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रध्यानध्यापक लगायतको सहभागितामा टिफिन वितरण गरिएको हो । गुणस्तरीय शिक्षा कायम गर्नका लागि नगरपालिकाले विद्यालयमा आईसिटीद्धारा अध्यापन गराउन समेत सुरु गरिसकेको छ । सैनामैनामा १८ वटा सामुदायिक विद्यालय रहेका छन् ।