वामदेव भन्छन – ‘प्रधानमन्त्री बन्न मात्र राष्ट्रिय सभामा जान्छु’

प्रकाशित मिति:

काठमाडौं  – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफू प्रधानमन्त्री बन्ने स्थितिमा मात्र राष्ट्रिय सभामा जाने बताएका छन्।उनलाई उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्ने निर्णय गरेको छ। तर सचिवालयको त्यो निर्णय स्थायी समितिको बैठकले अनुमोदन गर्नुपर्ने छ। कुनै सांसदलाई राजीनामा गराएर नेता गौतमलाई प्रतिनिधि सभाको सांसद बनाउने चर्चा चलाएको नेकपामा अब उनलाई राष्ट्रिय सभाको सदस्य बनाउने अर्को चर्चा चलेको छ। त्यसका निम्ति आफ्ना सर्तहरू रहेको नेता गौतमले बताएका छन्। बीबीसी नेपालीको साप्ताहिक नेपाल सन्दर्भका लागि बुधबार अन्तर्वार्ता दिँदै उनले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खुला गर्नुपर्ने बताए। त्यसका निम्ति संविधान संशोधन गर्नुपर्ने हुन्छ।

प्रधानमन्त्री सुनिश्चित हुनुपर्ने आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेको नेता गौतमले बताए। राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्नुपर्ने जवाफ दिएको उनको भनाइ छ। उनले भने, “प्रतिनिधि सभा वा राष्ट्रिय सभा जहाँ गए पनि म प्रधानमन्त्री बन्न मात्र जाने हो। त्यसैले संशोधन गरेमात्र राष्ट्रिय सभामा जान्छु भएको हुँ।“ दुवै सदनका सदस्य प्रधानमन्त्री बन्न सक्ने प्रावधान राख्ने प्रस्ताव ‘आफ्नो निम्ति मात्र नभएर संसदीय अभ्यास सुहाउँदो भएकाले’ राखेको उनको तर्क छ। गौतमले भने, “संविधान संशोधन भयो भने पनि म राष्ट्रिय सभामा जान्नँ। प्रधानमन्त्री बन्ने स्थिति बन्यो भने मात्र म जाने हो।“ उनका अनुसार संविधान संशोधन गर्न पनि सकिन्छ भनेर दुवै अध्यक्षले जवाफ दिएका थिए। तर त्यो गर्ने नगर्ने भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए। पछिल्लो आमनिर्वाचनमा गौतम बर्दियामा पराजित भएका थिए। –बीबीसीबाट