पत्रकार महासंघको १५ लाखको कल्याणकारी अक्षयकोष

प्रकाशित मिति:

चितवन – नेपाल पत्रकार महासङ्घ चितवन शाखाले रु १५ लाख बराबरको पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गर्ने भएको छ । जात्रैजात्रा फिल्मको च्यारिटी शोको टिकट बिक्री र दाताको सहयोगमा रु १० लाख सङ्कलन गरिएको र थप रकम जुटाएर रु १५ लाखको अक्षयकोष खडा गरिने शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । सो रकमलाई मूल धन खर्च नगर्ने गरी बैंकमा जम्मा गरिनेछ । त्यसबाट प्राप्त ब्याजलाई पत्रकार आपत्, विपद् र दुःखमा पर्दा सहयोग गरिने उनले जानकारी दिए ।

दुःखमा परेका पत्रकारलाई संस्थागत अभिभावकत्व महसुस गराउन र दुःख, बिमार हुँदा सार्वजनिक रुपमा सहयोग जुटाउँदै हिँड्नुपर्ने बाध्यता अन्त्यका लागि महासङ्घले यो कोष खडा गरेको खतिवडाले बताए । उनका अनुसार कोषलाई व्यवस्थित रुपमा सञ्चालनका लागि पत्रकार कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरिने र सोही कार्यविधिअनुसार पत्रकार महासङ्घले आगामी दिनमा सहयोग गर्नेछ । शाखामा २३७ सदस्य छन् । स्थानीय सञ्चारमाध्यम बढ्दै गएको र राजधानीबाट सञ्चालन हुने ठूला सञ्चार गृहहरुको कार्यालय तथा संवाददाता यस जिल्लामा भएकाले पत्रकारका सङ्ख्या बढ्दै गएको छ । जिल्लामा २१ एफएम रेडियो, ६ दैनिक, १३ साप्ताहिक पत्रिका, चार टेलिभिजन, ११ वटा अनलाइन सञ्चालनमा रहेका छन् । – रासस