नसर्ने रोगकै कारण जान्छ ६६ प्रतिशत नेपालीको ज्यान

२७ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


प्रदेश ५मा मात्रै ९१ हजारमा मुटु सम्बन्धी समस्या

मदन शर्मा /  बुटवल  –  नसर्ने रोग यतिबेला विश्वकै एउटा मुख्य चासोकोे विषय बनेको छ । पछिल्ला केही वर्ष यता विश्वभर नै नसर्ने रोग तथा यससँग सम्बन्धीत समस्याहरु बढेको पाईएको छ । र अहिलेको अवश्स्थामा यो विषय विश्वव्यापी रूपमै चिकित्सा विज्ञानका निम्ति चुनौतीको विषय बनिरहेकोे छ ।एक व्यक्ति बाट अर्को व्यक्तिमा नसर्ने दिर्घ रोग, सुक्ष्म जीबाणु माध्यमबाट नहुने रोग लाई साधारणतया नसर्ने रोग अथवा नन् कम्युनीकमेवल डिजीजेज भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिज समेत भन्ने गरिन्छ । यसमा मुख्य गरेर मुटु सम्बन्धी रोग, क्यान्सर, मधुमेह, दम, अल्जाईमर, नशा रोग, श्वासप्रश्वास सम्बन्धी रोग, मिर्गौला रोग लगायत पर्छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा कुल मृत्युदर मध्य ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । विश्वमा नसर्ने रोगको प्रकोप बढिरहेको अबस्थामा नेपालमा पनि यसको प्रकोप तिव्र गतिमा वृद्धि भइरहेको छ । नेपालमा सन् २०१८ मा भएको कुल मृत्यु मध्ये ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोगबाट भएको थियो । जसमा मुटुरोगका कारण मृत्यु हुनको संख्या ३० प्रतिशत, श्वासप्रश्वास सम्बन्धी रोगले १० प्रतिशत, क्यान्सरजन्य रोगले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत रहेको थियो ।

साथै, अन्य विभिन्न किसिमका नसर्ने रोगबाट मृत्यु हुनेको संख्या करिब १३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।नसर्ने रोग तथा समस्या मध्य मुटु सम्बन्धी रोग र समस्या अत्याधिक रहेको छ । प्रदेश नं ५को स्वास्थ्य र्निदेशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ९१ ह्जार १ सय ७५ जनामा मुटु रोगको समस्या देखिएको छ । जसमध्य उक्त रक्तचाप हुनेको संख्या अत्याधिक ८६ हजार ३ सय ५१, मुटु रोगका बिरामीको संख्या १ हजार १ सय ५३, हृदयघात हुनेको संख्या १ हजार ९ र अन्य मुटु सम्बन्धी समस्या रहेकाको संख्या २ हजार ६ सय रहेको निर्देशनालयका तथ्यांक अधिकृत रामजनम कुर्मिले जानकारी दिनुभयो । यो तथ्यांक प्रदेशको स्वास्थ्य र्निदेशनालयमा रिपोर्ट गरेका सरकारी तथा निजी स्वास्थ्य संस्थाको मात्र हो । यद्यपी मुटु सम्बन्धी समस्या अझै बढी हुन सक्ने उहाँको दावी छ ।नसर्ने रोगका कारण मृत्यु हुनेमा ३० देखि ६९ वर्षसमुहका मानिस बढी रहेका छन् । यसमा पनि प्रायः निम्न र मध्यम आयस्रोत भएका मानिस नसर्ने रोगका कारण मृत्युवरणमा पुगेका छन् । बुटवलको गौतम बुद्ध सामुदायीक मुटु अस्पतालका वरिष्ट मुटु रोग विशेषज्ञ डा समिर गौतमका अनुसार साना बालबालीकामा जन्मजात मुटु रोगको समस्या बढी हुने, युवावस्थामा मुटुको भाल्भ सम्बन्धी समस्या बढी हुने र वृद्धावस्थामा हृदयघातको समस्या बढी हुने गर्दछ ।

तर पछिल्लो समयमा हृदयघातको समस्या वृद्धावस्थामा मात्र सिमीत नभई युवावस्थामा पनि देखिएको उहाँको भनाई छ ।युवावस्थामा मुटु रोग लाग्नु र यस सम्बन्धी समस्या देखिनुको पछाडी मुख्य ३ कारण रहेको डा समिरको भनाई छ । पहिलो धुम्रपान, दास्रो मानसिक तनाव र तेस्रो आफ्नो शरीर प्रतिको व्यवास्था । धुम्रपानले रगत बग्ने नशालाई साँघुरो बनाई उक्त रक्तचापलाई बढावा दिनेभएकाले मुटुलाई काम गर्न गाह्रो हुन्छ । यसले हृदयघातलाई निम्त्याउने गर्छ । मानसिक तनावले शरीरमा हर्मोनल गतिविधिलाई बढाएर कोलेस्ट्रोल, टिजी लगायतलाई बढाउने हुँदा हृदयघातको उच्च जोखिम हुने गर्छ । शरीरिक बेवास्था भन्नाले के बुझिन्छ भने हाम्रो जस्तो विकाशोन्मुख देशमा नियमित शरीरिक चेकजाँच गर्ने बानीको अझै विकास भईसकेको छैन । सामान्यतया शरीरमा केही ठूलो समस्या नदेखिकन अस्पताल नजाने बानीले पनि यस्ता खतरनाक रोगलाई बढावा दिईएको छ ।विश्वव्यापिकरण, शहरीकरण, जनसंख्या बृद्वि, तथा जीवनशैलीमा आएको परिवर्तन तथा बातावरणीय प्रदुषण लगायतका कारणले गर्दा मानिसको जीवन र स्वास्थ्यमा जोखिम बढ्दै गैरहेको छ । यी कारणले गर्दा नसर्ने रोगहरु विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारणको रुपमा देखा परिरहेको छ । मुटु अस्पालकै अर्का स्वास्थ्यकर्मि सुमन तिमलसिनाले मुटु सम्बन्धी

समस्यालाई निम्तीनै नदिन दैनीक १ घण्टाको शारीरिक व्यायाम गर्ने, धुम्रपान मध्यपानको जीवनशैलीलाई सुधार गर्ने, अत्याधिक तनाव नलिने, नियमित चेकजाँच गरी शारीरिक अवस्थाको बारेमा जानकार रहने, औषधिको प्रयोग गर्दा डाक्टरको सल्लाह बमोजीम मात्र प्रयोग गर्ने बताउनुभयो ।सरकारले मुटु रोग संगसंगै अन्य नसर्ने रोगका लागि विशेष गृहकार्य पनि नगरेको होईन । मृगौला, क्यान्सर लगायतका रोगका बिरामीलाई अनुदान पनि दिने गरिएको छ । प्रदेश ५को सामाजीक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखामा कार्यरत शैलेन्द्र पाण्डेका अनुसार नसर्ने रोगको हकमा सेवासुविधा दिने स्वास्थ्य संस्थालाई अनुदान दिने कार्यक्रम संचालनमा रहेको छ । त्यस्तै प्रदेश भित्रका १२ वटै जिल्लामा स्वास्थ्य संस्थाको टिममार्फत स्क्रिनीङको कार्य पनि गरिरहेको जानकारी दिनुभयो । त्यसैगरी अर्को मुख्य गृहकार्य भनेको नसर्ने रोगको जोखिमयुक्त ठाउँमा जिल्ला जनस्वास्थ्य कार्यलयको सहयोगमा विशेष स्वास्थ्य शिविर पनि नियमित रुपमा संचालनमा राखिएको उहाँको भनाई छ । सो शिविरको अवधिमा उपचार संभव हुनेलाई उपचार गरिएको र संभव नभएकालाई उपयुक्त ठाउँमा रिफर गरिएको पनि उहाँले बताउनुभयो । तसर्थ यस्ता नसर्ने रोगमा न्यूनीकरण ल्याउन मुख्य गरी मान्छेले आफ्नो खानपानमा ध्यान दिने र जीवनशैलीलाई सुधार गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया