वाल्मीकि र होमर : रामायण र इलियटमा समानता

२८ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  पश्चिमी साहित्यकार होमरले लेखेका इलियट र ओडिसी हुन् या वाल्मीकिकृत रामायण र व्यासको महाभारत, यी आदिकाव्यहरुमा वर्णन गरिएका कथावस्तु मिल्दाजुल्दा देखिन्छन् ।साहित्यिक विशिष्ठता र ओझपूर्ण अभिव्यक्तिका कारण यी रचनाहरु विश्वमा अहिलेसम्म चर्चित छन् । श्रुति परम्पराअनुसार धेरै समयसम्म चलेका यी साहित्य एकैजनाले लेखे कि धेरै साहित्यकारले लेखे भन्ने पनि यकीन छैन ।रामायणमा रामको राज्यारोहणसम्म मात्रै वाल्मीकिले लेखेको र बाँकी कथाहरु पछिका कविले थपेको चर्चा छ । यद्यपि महाभारत र होमरको इलियट एवं ओडिसीमा भने यो पनि निश्चित छैन ।इलियड र रामायणको कथावस्तुमा देखिएका समानता – ग्रीसको महाकाव्य इलियडमा ट्रोयका राजा प्रियामका छोरा पेरिसले स्पार्टाका राजा मेनेलासकी पत्नी हेलेनलाई उनका पतिको अनुपस्थितिमा अपहरण गरेको घटना पाइन्छ । रामायणमा लंकाका राजा रावणले रामकी पत्नी सीतालाई उनका पतिको अभावमा अपहरण गरेको घटना छ ।रामायणमा सीतालाई पुनः प्राप्त गर्नका लागि राम र उनका भाइ लक्ष्मणले बाँदरहरूको सम्पूर्ण सेना जम्मा गरेर लंकाबिरुद्ध युद्ध आरम्भ गरेका थिए । इलियडमा पनि मेनेलाउस र उनका भाइ अगामेमोनले हेलेनलाई पुनः प्राप्त गर्न र ट्रोय बिरुद्ध युद्ध गर्न सबै युनानी राजाहरूका सेना भेला गरेका थिए ।इलियडको युद्धको अन्त्यमा ट्रोय शहर दहन भएको र हेलेन घर फर्किएको कथा पाइन्छ । उही समयमा रामायणमा लंका दहन रहेको र रावणलाई पराजित गरी अन्तमा सीता घर फर्किएको कथा पाइन्छ । यी दुई युद्धमा दुबै पक्षका धेरै मानिसहरू मारिएका छन् ।रामायण युद्ध मुख्यतया समुद्रको तटमा लडिएको थियो र बाँदर सेनाले श्रीलंकासम्म पुग्न ठूलो कठिनाइहरूको सामना गर्नु परेको पाइन्छ । ट्रोजन युद्ध पनि समुद्री तटमा भएको थियो ।

ग्रीकहरूलाई ट्रोयसम्म पुग्न त्यस्तै गाह्रो भएको उल्लेख पाइन्छ । इलियडमा नायक अकिलिस हुन् भने रामायणमा नायक राम हुन् ।यी दुबै नायकहरूले आफूलाई युद्धको अन्तिम चरणमा प्रमाणित गर्छन् र आफ्नो प्रतिभा प्रदर्शन गर्छन् । तर, दुवैलाई महाकाव्यको सुरूमा कुशल योद्धाका रूपमा वर्णन गरिएको छ ।इसाको छैठौंदेखि आठौं शताब्दीको बीचमा विकास भएको मानिने पूर्वका दुई साहित्य र पश्चिमका दुई साहित्यले विश्वमा साहित्यको नयाँ पाठ सिकाए । त्यही कालखण्डको घटनालाई समेटेर विश्वले चारवटा मुख्य साहित्य पायो । यद्यपि चारवटै साहित्यको समयबारे विवाद अझै जारी छ ।यही समयका तीन महाकाव्यकार नै अहिलेसम्म पनि आदर्श पात्रका रुपमा साहित्यमा छन् । न कुनै सिद्धान्त, न कुनै बन्देज । स्वच्छन्त रुपमा उडान भरेर लेखिएका यिनै साहित्यबाट नै धेरैले रसको उत्पत्ति गराए । कसैले अलंकारको खोजी गरेर चर्चित भए । कसैले कथाबस्तु र पात्रको चरित्र चित्रण गरेर नाम कमाए । यिनै साहित्यहरुको एउटा खण्डले धेरैलाई चर्चित बनाउँदै लग्यो र विस्तारै त्यसैको पदचापहरु पछ्याउँदै साहित्यकारहरु हिँडिरहे । त्यही क्रम अहिलेसम्म चलिरहेको छ ।इसापूर्व आठौं शताब्दीतिर होमरको महाकाव्यमा यात्रा र युद्धको विषयवस्तुले ठाउँ पायो । उनी नै महाकाव्यका परिकल्पनाकार थिए । उनैले पश्चिमी पूराकथामा हेलेनलाई विश्वसुन्दरीका रुपमा स्थापित गराउने प्रयास गरे । उनको प्रयास सफल भयो । उनकी तिनै सपनाकी राजकुमारी धेरै पाश्चात्य साहित्यमा विश्वसुन्दरीका रुपमा चर्चामा आइरहिन् । तिनै सुन्दरीलाई समुद्र तार्ने आवश्यकताले गर्दा ट्रोजन युद्ध हुन्छ । त्यही युद्धले जन्मिन्छ ‘इलियट’ र ‘ओडिसी’ ।

महाकाव्यमा चलेको संघर्षको सवालसँगै इलियटले गति लिँदै जान्छ । नारीको सुन्दरताको वर्णन, सौर्य र वीरता, युद्ध र विजयको कुरा र नायकको अभ्युदायसँगै महाकाव्यको अन्त्य हुन्छ ।ओडिसीमा भने एकातर्फ प्रणय र सौर्य साहस छ भने अर्कोतिर दुखान्त कथाको प्रसंग पाइन्छ । यही दुई विषयको संयोजनले मिलेको इलियट र ओडिसीकै आडमा धेरै साहित्यको रचना भए । यसैको हाँगाको रुपमा धेरै कथा रचिन थाले ।गेटेले होमरको यही नाटकीकरणको कलाबाट महाकाव्यलाई नाटकीय बनाउने कला सिके । होमरकै पदचापलाई केही परिस्कृत गरेर भर्जिलले आफ्नोपनमा महाकाव्य लेखे । यसरी सारा पश्चिमी साहित्यमा होमर फैलिए ।अर्कोतर्फ, रामायण र महाभारत पनि महाकाव्यको पदचापमा पूर्वीय साहित्यकारहरुको यात्रा अझैसम्म पनि जारी छ । दैवी, मानवीय, अर्धमानवीय, वीरगाथा, प्रेमगाथा, ऋषि गाथाको संयोजनमा रचिएको रामायण र त्यसैको समकालीन मानिने महाभारत स्वतस्फूर्त अभिव्यक्तिको आदर्श बन्यो ।परिस्कार र परिमार्जनको खास आग्रह नगरी जीवनको एउटा व्यापक विस्तृत परिप्रेक्षलाई व्यक्त गरेको छ । महाभारतमा आख्यान र चिन्तनको मात्रा बढी छ । रामायणमा निम्नतम परिस्कारको स्पर्श जोडिएको छ । आख्यान र कवित्वको कुशल संयोजन जोडिएको छ । जति रामायणमा कवित्वको कुशल संयोजन गरिएको छ, त्योभन्दा धेरै महाभारतमा कुशल कवित्वको संयोजन देख्न पाइँदैन ।

अहिले साहित्यमा धेरै सिद्धान्तहरुको विकास भएको छ । रस, अलंकार, बिम्ब, प्रतिक जस्ता सैद्धान्तिक परिधिभित्र बाँधिएको छ आजको साहित्य । त्यही रस, अलंकार र प्रतीकको त्रासका कारण पनि धेरै साहित्य उँट जस्तो बन्ने गरेको पाइन्छ ।साहित्य र साहित्यकारहरुले पुराना लेखकको पदचाप पछ्याएको भए पनि उनीहरुको जस्तो स्वतन्त्र ढंगले अलंकार, रस, बिम्ब र प्रतीकहरु जोडेर एउटा सुन्दर रचनाको विकास गर्न भने साहित्यकारहरु सफल भएको पाइँदैन । रामायण र महाभारतकै तुलना गर्ने हो भने पनि यी दुई साहित्यमध्ये महाभारत समेत रामायणको जस्तो ओझिलो बन्न सकेको छैन ।ईसापूर्वको आठौं शताब्दी पहिले रचना भएका यी ग्रन्थमा रहेका सैद्धान्तिक पक्षलाई केलाउने काम भने त्यसको १२०० वर्षपछि मात्रै सुरु भएको पाइन्छ । तिनै वाल्मीकिको रामायण र व्यासको महाभारतकै पदचाप पछ्याउने कविहरु ईसाको छैटौं शताब्दीदेखि सुरु भएका थिए । ईसाको छैटौं शताब्दीका भामहले तिनै आदिकाव्यहरुको सहयोगमा आफ्नो साहित्य लेखे ।भामह अलंकारवादी कवि हुन् । उनको प्रसिद्ध ग्रन्थ नै ‘काव्यालंकार’ हो । उनको विचारमा अलंकार नै काव्यको आत्मा हो । भामहले महाभारत र रामायण जस्ता ग्रन्थहरुलाई लक्ष्यग्रन्थ बनाएर अघि बढेको उनको बुझाइ देखिन्छ ।

त्यस्तै, सातौं शताब्दीका दण्डीको महाकाव्यमा कथाबस्तु, नायक, रस, चतुर्वर्ग, प्राकृतिक अलंकार छन्द योजना र सर्गवद्धताको आवश्यकता बताएका छन् । उनले नै रस र भाषाशैलीको पनि महत्व बढाए । उनी पछि आठौं शताब्दीका रुद्रट, चौधौं शताब्दीका विश्वनाथ आदिले यसको विकास गराउँलै लगे । तिनै वाल्मीकि र व्यासको पदचापमा अहिलेसम्मको महाकाव्यहरु चलेको देखिन्छ । त्यतिबेलाका महाकाव्यहरुको तुलनामा अहिलेका महाकाव्यहरु धेरै परिस्कृत भएको पाइन्छ । तर, त्यतिबेलाका महाकाव्यहरुको जस्तो ओझिला कथाबस्तुहरु भने अहिले पाउन गाह्रो हुने गरेको छ ।पाश्चात्यतर्फ पनि होमरको पदचापमा हिँड्ने साहित्यकारहरु धेरै रहेको पाइन्छ । लुकानले होमरबाटै नाटकत्वको शैली सिके । होमरको साहित्य लोकजीवनको एक अंग बन्दै गयो । विश्वले त्यसैबाट धेरै कुरा सिक्दै गए । ग्रीस सभ्यता, बेबिलोन सभ्यता, मिश्र सभ्यता, प्यालेस्टाइन सभ्यतासम्मका साहित्यले तिनै होमरका साहित्यको पदचाप पछ्याउँदै गए ।अरु सभ्यताका महाकाव्यहरुले केवल निश्चित भूगोललाई आफ्नो प्रभाव क्षेत्र बनाउन सके । तर, होमरका दुई महाकाव्य र पूर्वीय साहित्यको रुपमा रहेका महाभारत र रामायणहरुले विश्वभरि नै आफ्नो उडानको रफ्तारलाई विकास गराए ।होमरमा कुनै पनि कथावस्तुलाई नाटकीकरण गर्ने शैली थियो । उनको महाकाव्यमा सम्पूर्ण घटनाक्रमहरुले आफैं प्रस्फुटित हुने मौका पाएका छन् । उनको यही नाटकीकरणको शैलीलाई गेटेले आफ्नो साहित्यमा भित्र्याए । बिम्ब र भावनामा नै कथा लुकाउन सक्ने शक्ति होमरमा थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया