धनुषा बम विस्फोटमा संलग्न भएकाे आरोपमा विप्लव समूहका ५ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं – धनुषाको थिरेश्वरनाथ नगरपालिका–५ स्थित औषधि व्यावसायी राजेश साहको घरमा बम विस्फोटनमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्ला सचिव हंसपुर नगरपालिका–२ का ३२ वर्षीया ललिता देवी महरा लगायत पाँचजना छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान सुरु गरिएको छ । विप्लव समूहले देशका विभिन्न स्थानमा वम विस्फोट गर्दै आएकाले शुक्रबार रातिको विस्फोटमा पनि सोही समूह संग्लन रहेको प्रहरीको दाबी छ । विप्लव समूहले भने आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन । शुक्रबार मध्यराति भएको विस्फोटमा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको थियो । विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यावसायी राजेश साह र उनका छोराले ज्यान गुमाएका थिए ।  विस्फोटमा राजेश साहका एक छोरा र एक छोरी घाइते भएका छन् ।