कांग्रेसमा विवाद मिलेन : पौडेल समूह बैठकमा नजाने, पौडेल लागे पाथीभरा दर्शनमा !

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आइतबार (आज) को केन्द्रीय कार्यसमिति बैठकमा पनि उपस्थित नहुने भएको छ । सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनको कार्यतालिकासम्बन्धी एजेण्डा बैठकमा प्रस्तुत गर्न सहमत नभएपछि पौडेल समूह केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित नहुने भएको हो । पौडेल समूहले संस्थापन पक्षसँग छलफलका लागि गठन गरेको वार्ता समितिका संयोजक केन्द्रीय सदस्य प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाबीच केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने सहमति भएको छ । “आज (आइतबार) बैठकमा नजाने पौडेल समूहको निर्णय भयको छ । भर्खरै पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाबीच यस्तो सहमति भएको हो,” नेता सिंहका सहयोगी यूपी लामिछानेले भने ।

उनका अनुसार पाथीभरा दर्शनमा लागेका पौडेल आजै बेलुका काठमाडौं आई वरिष्ठ नेता पौडेलसँग थप छलफल हुने भएको छ । सिंहको नेतृत्वमा गठित समितिले संस्थापन पक्षसँग ठोस सहमति नजुटेकाले आवश्यक छलफल गरेर सहमति खोज्ने प्रयास जारी राखिने जनाएको छ । यसअघि शनिबार बेलुकी सिंह निवास चाक्सीबारीमा विवाद समाधानका लागि उपसभापति विमलेन्द्र निधिले पौडेल समूहका नेताहरुसँग छलफल गरेका थिए । तर, उक्त छलफलले कुने निष्कर्ष भने निकालेको थिएन ।आइतबार बिहान उपसभापति निधिले महामन्त्री डा. कोइरालासँग पनि सहमतिको प्रयासस्वरुप छलफल गरेका थिए । सहमतिकै प्रयास स्वरुप उपसभापति निधिले महामन्त्री कोइरालाकै निवास पुगेर विवाद समाधानका बारेमा छलफल गरेका हुन् ।

“उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालबीच कोइराला निवास महाराजगञ्जमा छलफल सम्पन्न भएको छ,” प्रवक्ता विश्वप्रकाश शर्माले भने, “चार मुख्य विषयमा पार्टीभित्र सहमति निर्माण गरेर अघि बढ्ने सहमति भएको छ ।” यद्यपि, उनले सहमति निर्माण गरिने चार मुख्य विषयका बारेमा भने खुलाएका छैनन् ।  पौडेल समूहले बिहीबारको बैठक बहिष्कार गरेपछि शनिबार बिहानै सभापति शेरबहादुर देउवा सहमति जुटाउन वरिष्ठ नेता पौडेलको निवास बोहराटार पुगेका थिए । देउवासँगको छलफलमा वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका ल्याउँदासम्म बैठकमा नबस्ने अडान दोर्होयाएका थिए । केन्द्रीय समितिको बैठक १ बजेका लागि बोलाइएको छ ।