भैरहवामा आधुनिक प्रतिक्षालय र ट्राफिक आइल्याण्ड उद्घाटन

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आधुनिक प्रविधिको डिजिटल प्रतिक्षालय तथा डिजिटल ट्राफिक आइल्याण्ड उद्घाटन भएको छ । सन आउटडोर प्रालि भलबारीले सिद्धार्थनगर नगरपालिकासंगको सहकार्यमा डिजिटल सिद्धार्थनगर परियोजना अन्तर्गत भैरहवाको मुख्य सडकका ३६ स्थानमा डिजिटल प्रतिक्षालय र २० स्थानमा ट्राफिक आइल्याण्ड निर्माण गर्ने सम्झौता गरेको छ । सोही अनुसार पहिलोचरणमा आइतबार भैरहवाको बुद्धचोकमा यात्रु प्रतिक्षालय र ट्राफिक आइल्याण्ड उद्घाटन भएको हो । सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडलमा रहेर सन आउटडोरले १६ करोड रुपैया लगानीमा ३६ वटा प्रतिक्षालय र २० वटा आइल्याण्ड निर्माण गरिंदैछ । सन आउटडोरले पहिलोचरणमा बुद्धचोकमा ४ , देवकोटा चोकमा २ र बसपार्कमा एक गरि ७ वटा डिजिटल प्रतिक्षालय र बुद्धचोक, देवकोटा चोकमा र बर्मेलिटोल गरी तिन स्थानमा ट्राफिक आइल्याण्ड निर्माण भएको छ ।

आइतवार नगरप्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले भैरहवाको बुद्धचोकमा निर्माण भएको डिजिटल प्रतिक्षालय र ट्राफिक आइल्याण्ड उद्घाटन गरेका छन् । नगरप्रमुख अधिकारीले नगरको सुन्दरतामा ध्यान पु¥याउदै नगरपालिकाले निजी क्षेत्रको साझेदारीमा नगरलाई डिजिटल बनाउन डिजिटल सिद्धार्थनगर परियोजना शुरु गरेको बताए । सिद्धार्थनगर नगरपालिकाले सन आउटडोर प्रा ली संग १० बर्षको लागि वार्षिक १० लाख रुपैयाँ रोयल्टी लिने गरी सम्झौता गरेको छ र त्यो बापत सन आउटडोरले कानुनले निषेध नगरेका वस्तुका बिज्ञापन गर्न पाउनेछ । डिजिटल प्रतिक्षालयमा विभिन्न प्रचार सामाग्री सुन्दर किसिमले राखिनेछन् । यात्रुको लागि घामपानीमा ओत लाग्ने स्थानको समेत ब्यवस्था गरिएको छ । सन आउटडोर प्रालिका प्रमुख कार्यकारी अधिकृत बसन्त पाण्डेले डिजिटल सिद्धार्थनगर परियोजना ब्यापारिक परियोजना भए पनि यसले शहरलाई सुन्दर बनाउने र यसको लाभ नगरपालिका र नगरवासीले लिने बताए । पाण्डेले पर्यटकिय नगरि भैरहवाको सौन्दर्यताका साथै यात्रुहरुलाई सहजता पनि हुने बताए । पाण्डेका अनुसार १६ करोड लगानी निर्माणको मात्र नभएर १० बर्ष सम्मको संचालन खर्च समेत गरि हो । दोस्रो र तेस्रो चरणमा २९ वटा डिजिटल प्रतिक्षालय र १७ वटा डिजिटल ट्राफिक आइल्याण्ड निर्माण हुनेछ । कार्यक्रम सन आउटडोर प्रालिका अध्यक्ष देव कुंवरको अध्यक्षतामा भएको थियो । सो अवसरमा अध्यक्ष कुंवरले युरोपियन मापदण्डमा चिनमा निर्मित डिजिटल प्रतिक्षालय र ट्राफिक आइल्याण्ड निर्माण भएको जानकारी दिए । ५ बर्ष पछि प्रालिले आफ्नै लगानीमा नया प्रविधिको डिजिटल प्रतिक्षालय र ट्राफिक आइल्याण्डलाई अपग्रेड समेत गर्ने अध्यक्ष कुंवरले बताए । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक महेश बस्नेतले भैरहवा क्षेत्रमा ट्राफिक आइल्याण्ड स्थापना हुनु सकारात्मक काम भएको बताए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरु, वरिष्ठ अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया