जीवन भनेको संघर्ष नै हो:ओशो

३० मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


जव हामी बच्चा हुन्छौ हामीलाई स‌ंसार जति सुन्दर केहि लाग्दैन जब बिस्तारै ठुलो हुदै जान्छौ अनि जीवन गार्हो हुँदै जान्छ र लाग्छ जीवन भनेको संघर्ष नै हो । दु स्ख भनेको हाम्रो साथी जस्तै हो । हरेक दिन खुसी हुने त हामीले कल्पना समेत गर्दैनौं । हामीमध्ये अधिकांश त गुरु खोजको बारेमा सोच्दै सोच्दैनौ ।आज भन्दा १३ बर्ष अगाडि जब म पढाईको शिलशीलामा काठमाडौं छिरेँ । मेरो मनमा पनि यस्ता प्रकारका धेरै कुराहरु दिमाखमा खेलिरन्थे । काठमाडौं बसाई अली खर्चिलो हुने हुँदा एउटा कम्युनिकेशन संगै पत्रिका पसल चलाउदै दुइ जना भाइ अनि मेरो अध्ययन खर्च जोहो गर्न थाले । मेरो कक्षा बिहानको हुन्थ्यो । भाइहरुको दिउँसोको । खाना पकाउने र बिहान पसल हेर्ने काम भाइहरुको हुन्थ्यो भने दिउँसो मेरो भाग पर्थ्यो । पसलमा हरेक खालका मान्छेहरु आउँथे । मलाई सबै मान्छे नियाल्दा यस्तो लाग्थ्यो जीवन भनेको यसरी नै बित्ने रहेछ ।मेरो पसलमा आउने मध्ये एक जोडीले अरु पत्रिका सरर हेडलाईन मात्रै पढ्ने, तर किन्दा ओशोवर्ल्ड, ओशो टाईम्स जस्ता म्यग्जिन मात्रै किन्ने गर्थे । उनीहरुको घाटीमा माला पनि थियो । त्यो जोडीको सरलता र इमानदारिताले गर्दा मैले पनि ओशो टाईम्स र ओशो र ओशोवर्ल्ड पल्टाएर हेर्न थालें । मलाई लाग्थ्यो यो संसार अलि फरक छ । तैपनि त्यहाँ भएका कुरा पढ्दा यस्तो लाग्थ्यो कि तिनीहरु मात्र लोकप्रियताको लागि मात्र खुशीका कुरा गर्ने हुन् ।हुन त बेला मौकामा डा विकासानन्दलाई पढ्ने र सुन्ने गर्दथे ।त्यसले गर्दा अध्यात्म प्रति केहि सकारात्मक थिए तर यसरी नै जीवन बदल्दिन सक्छ भन्नेमा फिटिक्कै विश्वास थिएन । पसल बेचेर म कुनै अफिसमा काम गर्न थाले । संयोगनै भन्नुपर्छ अफिसमा पनि एकजना ओशोको माला लगाउ थिइन् । उनिसंग परिचय गरे ।

बोलिमा स्पष्टता , सोच्ने शैली भिन्न , सरसफाईमा सचेत , अनुहारमा भिन्नै खालको चमक ,आहार बिहारमा पनि धेरै सचेत ।यो कुराले मलाई अझ बढी जिज्ञासु बनायो र सोधे उनले बुझाउने प्रयास गरिन तर मैले बुझिन मात्र मैले बुझेजस्तो गरिदिए ।जब उनले मलाई ओशोका दुई चारवटा किताबहरु पढ्नको लागि किनेर उपहार दिइन त्यसपछि म मजाले पढ्न थाले । मेरो आध्यात्मलाई हेर्ने दृष्टिकोण बद्लिइन थाल्यो । आध्यात्मिक जीवन बुढेसकाल मात्र हो र ध्यान धर्म कर्म ६० वर्ष पछि मात्र गर्ने हो भन्ने मेरो सोचाई बदलियो । सोहि अनुरुप टिचिङ हस्पिटलमा हुन लागेको ब्यस्त जीवनमा तबाब ब्यबस्थापन भन्ने बोधिसत्त्व स्वामी आनन्द अरुणको कार्यक्रममा भाग लिन पुगे । मैले सोचेको, बुझेको, जानेको, भोगेको धार्मिक ब्यक्ति भन्दा उनमा नितान्त फरक व्यक्तित्व पाए ।मेरो धारणाको धार्मिक फ्रेममा उनको सोच विचार, हाउभाउ, उठ बस, बोली व्यवहार पटक्कै मेल खाएन र मलाई विश्वास गर्न गार्हो भयो कि यस्तो व्यक्ति कसरि आध्यात्मिक हुन्छ भनेर । तैपनि कार्यक्रम सकिएपछि नमस्कार गर्न पुगे । उनको व्यक्तित्वले मलाई ओशोलाई थप जान्ने र बुझ्ने उत्सुकता जागेर आयो । मैले पुनस् किताब पढ्न थाले र काठमाडौँको बाफलमा रहेको स्वामी आनन्द अरुणको घर आशिष् ध्यान केन्द्र  नेपालको सबैभन्दा पुरानो ध्यान केन्द्रमा जहाँ ३० बर्ष देखी नियमित ध्यान हुदोरहेछ त्यहाँ एक महिना भन्दाबढी नियमित ध्यान गरे । मनमा एक प्रकारको आनन्दको अनुभूति भयो । त्यसपछि ओशो तपोबन गएर ध्यान गर्न सुरु गरे र संन्यास पनि लिए । संन्यास लिनेबित्तिकै गुरु शिष्यको महिमाको बारेमा जानिन्छ भन्ने होइन यो त निरन्तर साधनाबाट प्राप्त गर्ने कुरा रैछ ।

आज म बोधिसत्त्व स्वामी आनन्द अरुणलाई एक गुरु सरहको दर्जा दिन्छु जबकि सुरुका दिनमा अरु संयाशीले उहाँको खुट्टा ढोग्दा मलाई समेत पाच्य हुदैनथ्यो ।यस्ता कुराहरु त निरन्तर साधना, आफ्नो गुरु महिमाको बारेमा राम्रोसँग जानेपछि र सच्चा साधकसँगको सत्संगबाटबाट नै थाहा हुदोरैछ । मलाई पनि बोधिसत्त्वको अर्थ थाहा पाउन केहि समय लाग्यो । आफ्नो गुरूकोबारेमा जान्न अझ आनन्द अरुण जस्ता गुरुभक्तको सत्संगले झन् सहज हुदोरहेछ ।मैले यहाँ आनन्द अरुणको अन्धोभक्त बनेर प्रशंसा गर्न खोजेको होइन । न त आफुलाई गहिरो साधक नै भनेर दाबी गर्छु । १२ बर्ष ध्यान साधनाबाट के पाए के गुमाए भन्ने कुराको न त हिसाब किताब नै राखेको छु न त मोक्षबारे चासो छ न त पाउने हतारो नै छ तर आज आनन्द अरुण र ओशो तपोबन को कारण १० बर्ष अघिको जड्याहा जिन्दगी भने मसंग छैन । आनन्द अरुण गुरूभक्तिबाट प्रभावित भएर भट्टीको जीवनबाट म भक्तिमा तल्लिन हुन पुगेको छु । म आफ्नो जीवन रुपान्तरण भएको राम्रोसँग देख्न सक्छु । यस्ता कुराहरु किताबी ज्ञानबाट जति पढे पनि पाइदैन न त बुझ्न नै सकिन्छ ।१२ वर्ष अगाडीको म एक कट्टर हिन्दु धर्मालम्बी मलाई त्यति बेला हिन्दु नै सर्वस्व लाग्थ्यो तर म आज बुद्धको धम्मपदको बारेमा पढ्छु , शिबपुरी बाबाको स्वधर्मलाइ सम्मान गर्छु । मोहम्मद अल्लाह  को हुन र जिससको प्रेम के हो बुझ्ने अवसर पाएको छु । शिबपुरीबाबाको समाधिमा गएर घण्टौ बिताउन मन लाग्छ । स्वामी आनन्द अरुण र तपोबनको

कारण पशुपति मन्दिरमा हुने सन्ध्या आरतीमा झुम्न सक्ने, ऋषिकेश, हरिद्वार, जगन्नाथ पुरी, देबघाट, मुक्तिनाथ, गोसाइँकुण्डजस्ता तिर्थहरुको गरिमाको जानेको छु ।आनन्द अरुणसंगको सत्संगले मिरा अनि कृष्णको प्रेम महिमा, नानक, कबिर, गुर्जियफ जस्तासन्तहरुको गाथा सुनेको छु । सायद मेरो घरमा बेद, बाइबल, कुरानजस्ता पबित्र ग्रन्थ एकै साथ कहिल्यै भित्र्याउने थिईन होला । तपोबन नहुदो हो त मुस्लिम साथीले मस्जिदमा गरेको नमाज, क्रिशियन साथीले चर्चमा गरेको प्राथना, एक भिक्षुले पढ्ने बुद्धको मन्त्र र गुरुद्वारामा माथा टेकेर शरण परेका ती शिख साथीमाथि हास्थे होला ।तपोबन यस्तो पाठशाला हो जहाँ मैले मात्र होइन संसार भरिका हरेक बर्ग र समुदायका मानिसहरु प्रेम, ध्यान, करुणा र मैत्रीभावको विद्या सिक्छ्न । यसै कारणले म जस्ता हजारौ साधकको लागि तपोबन एउटा तिर्थको पनि तिर्थ हो जुन आनन्द अरुणको गुरूभक्ति र कठोर साधनलेले सिर्जित भएको बुद्ध फिल्ड हो । जहाँ अहिले नेपाल मात्र नभई विश्वका हजारौ संन्याशीले साधना गर्छौ ।अझ यसको महत्व त हामीजस्ता साधकले नजिकबाट नियाल्न पाएका छौ । तैपनि यस्ता शुद्द तिर्थमाथि विभिन्न समयमा अध्यात्मका बिरोधिबाट गुरूमहिमाको

आवरणमा विनास गर्न खोजिनु कुनै ठुलो कुरा होइन । जसरी बुद्धका शिष्य देवदत्ताले वुद्धलाई मार्ने प्रयास मात्र होइन कैयौ गुम्बा बन्द गराए ।ओशोको केहि शिष्यले ओशो इन्टरनेसनल फाउण्डेशन मार्फत सयौ कम्युन तथा सेन्टर बन्द गराए । त्यति मात्र नभई भगवान् ओशोले निर्माण गरेको पुराना कम्युनमा अहिले ओशोको माला निषेधित छ, ओशोको समाधि लुकाइएको छ र त्यहाँवाट ओशोको फोटो समेत हटाइएको छ । ओशोको कुनै गुरू नभई सामान्य व्यक्ति हुन् भनि प्रचार प्रसार गरिएको छ । अहिले आएर हामी ओशो संन्याशी ओशोको देहान्त सामान्य नभई नियोजित थियो भन्नेमा प्रस्ट छौ ।यसबाट के स्पस्ट हुन्छ भने हरेक महान बुद्ध पुरूषका बुद्धको झैँ बोधीधर्मजस्ता निष्ठावान शिष्य पनि हुन्छन र देबदत्तजस्ता दुष्ट शिष्य पनि हुन्छन । कसलाई अनुसरण गर्ने भन्ने कुरा एउटा साधकले गुरूप्रति गर्ने स्रद्दामा भर पर्ने हो । हरेक साधकसंग यस्ता छनोट गर्ने अवसर पनि आउछन । एउटा बुद्ध फिल्ड र सच्चा बोधिसत्त्त्वको मर्म र महिमा बुझ्न एक सच्चा साधकले कन्जुस्याई गर्नु हुदैन । अहिले तपोबन र स्वामी आनन्द अरुण साधकको लागि मात्र नभएर देशको लागि नै गौरबको बिषय हो । यसको महत्त्वलाई समयमा नै पहिचान गरि यसलाई बिदेशी पैसाको प्रभावमा बिगार्न खोज्नेप्रति हामी सबै सचेत बन्न जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया