सामुदायिक विद्यालयको एकल पहलमा रनिङशिल्ड प्रतियोगिता, ४० विद्यालयका १२ सय खेलाडीले प्रतिस्पर्धा गर्दै 

प्रकाशित मिति:

बुटवल /सामुदायिक विद्यालयको एकल प्रयासमा बुटवलमा पहिलोपटक अन्तर मावि कालिका रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । बुटवलस्थित कालिका मानव ज्ञान माविले पुस २ गतेदेखि ७ गतेसम्म रनिङ शिल्ड सचालन गर्ने भएको हो । प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फ भलिबल, कबड्डी र एथलेटिक्सका १४ वटा इभेन्ट्समा १४ वटा स्वर्ण, १४ रजत र १४ वटा कास्य पदकमा प्रतिस्पर्धी हुनेछन् ।प्रतिस्पर्धा गराइने छ । विद्यालयका खेल संयोजक हरिबहादुर ओलीका अनुसार प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका सामुदायिक र नीजि गरी ४० विद्यालयका १२ सय खेलाडीले भाग लिने छन् ।

एथलेटिक्स ट्याकतर्फ छात्राको ८ सय,१५ सय र ५ हजार मिटर तथा छात्रको ८ सय,१५ सय र ३ हजार मिटरको दौड र एथलेटिक्सकै फिल्डतर्फ सर्टपुट र लङजम्प प्रतियोगिता पनि हुने खेल संयोजक ओलीले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार,उपविजेताले ३० हजार र तेस्रो हुने विद्यालयले २० हजार रुपैया पाउनेछन् । प्रतेक इभेन्टमा बेस्ट प्लेयर पुरस्कार समेत रहने छ । २१ औँ शताब्दीका विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नपुग्ने र भविष्यका खेलाडी उत्पादन हुने आधार थलो विद्यालय भएकाले यस वर्षदेखि अन्तर मावि रनिङ शिल्ड आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले बताए । पाठकका अनुसार एउटा विद्यालयको पहलमा उपमहानगरपालिका स्तरीय रनिङ शिल्ड आयोजना गर्ने विद्यालय कालिका मानव ज्ञान पहिलो हो । नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले विद्यालयस्तरबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुनु खेल क्षेत्रको विकाशमा कोशेढुंगा भएको बताए ।